पुष्पलालको जन्मशताब्दमा : त्रिलोचन आचार्य (कविता )

पुष्पलालको जन्मशताब्दमा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

तोड्न सन्त्रासको जालो कालो तन्त्रभगाउन
विगुल क्रान्तिको अग्लो गन्तव्यमा पुर्‍याउन
नेकपा स्थापना गर्ने अगुवा सतिसालको
जन्मशताब्दको वर्ष यहीहो पुष्पलालको ।

समुन्नत सबै होऊँ स्वतन्त्रअधिकारले
निःस्वार्थ्य त्यागको बाटो समाऊँ व्यवहारले
भनेर जन क्रान्तिका सिद्धान्त जसले रच्यो
अनुयायीहरूबाटै उल्टियो व्यवहार त्यो ।

हेपिएकाहरू जागून् उठून् संघर्ष खातिर
समाजवाद चम्केर सजाओस् देशको शिर
गोलबन्द बनून् सारा घेरामा गणतन्त्रको
सामन्तवादको अन्त्य चाहना उनको थियो ।

उनकै मार्ग रोजेर नेतृत्व गरी क्रान्तिको
सत्तामा छन् यिनै खै त ?श्रेय श्रमिकको भयो ?
निमुखावर्गले आस राख्ने ठाउँ कहाँ रह्यो ?
नेताका बङ्गला देख्दा लाग्छ खाडल झन् बढ्यो ।

गणतन्त्र प्रजातन्त्र रोज्ने मिलेर उर्लिऊँ
निरङ्कुशहरूलाई उखेलीकनफाल्दिऊँ
भन्थे खै ?उनकाशिष्य झगडा मात्रगर्दछन्
एक आपसमा लड्दै धुलो मात्र उडाउँछन् ।

सुक्दा गरिबको आँत उठेन साम्यवाद यो ?
लुट्दा जमिनको पाटो झुकेन स्वाभिमान यो ?
कुर्सीले थिचिँदा नेताजलेन क्रान्तिकारिता?
राष्ट्रियता कताभाग्यो ?नागरिक कता?कता?

देशको उर्वरा माटो हराभरा गराउँन
स्वच्छ वसन्त डाकेर चम्काई जनजीवन
अन्धकार सबै फाल्दै उत्साहले भरौँ अब
एकतावद्ध भै हिँड्न पुष्पलाल पढौँ अब ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।