दिनहरू : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ५ ।
१. भाग्दै यो दिन दौडिँदै छ जसरी भाग्थ्यो हिजो अस्ति यो
भाग्थ्यो घाम र जूनका सँगसँगै बाटो चुनी मस्तिको
आगो माग्न पसे समान दगु¥यो टुप्लुक्क आईकन
जानैथ्यो यति आत्तिँदै यदिभने आयो रमाई किन ?
२. के के गर्नु छ खै ? भनेन उसले, सोध्दै नसोधी गयो
को को छौ पथमा ? भनेर उसले, खोज्दै नखोजी गयो
हामीभित्र थिए अठोट सब ती, हेर्दै नहेरी गयो
टाढा फुत्त नजा भन्यौ तर कठै, टेर्दै नटेरी गयो ।
३. आएँ सम्म भन्यो बिहान पख नै लाली फिँजाई वरी
हेक्का राख भन्यो उठेर दिउसो के के न होलासरि
सारा फुर्ति घट्यो लुरूक्कन झ¥यो सन्ध्या न जागी कन
छाडी मार्ग पुग्यो किनार तटमा बाटो न मागी कन ।
४. बारी खेत म खन्दथेँ भनिरहे प्यारा किसानी
यात्री बास कता कता परिसक्यो बस्छन् कहाँ सज्जन ?
गाई गोठ नआउँदै दिन गयो जान्छन् कता के भनौँ ?
अर्को आज गयो भुसुक्क दिन यो अल्छी छु बल्छी किनौँ ?
५.यौटा जान्छ डराउँदै पछि अहो दौडिन्छ अर्को पनि
जाने चल्छ परम्परा अनि यही भैहाल्छ लर्को पनि
जाने कै लयमा सरासर गए निर्धक्क आए जति
बाँच्ने मात्र रहेछ गीत जगमा हाँसेर गाए जति ।
६. यौटा घाम गयो भनेर नबुझौँ हाम्रै घटायो वय
यौटा जून गयो भनेर नबुझौँ हाम्रै टुटायो लय
हो हाम्रै दिन घर्किए प्रगतिका बाटो नखोलीकन
गर्दै काम समाउँला दिनहरू बोल्दै नबोलीकन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।