शान्ति : विद्या भण्डारी ‘चिराग’ (कविता )

शान्ति : विद्या भण्डारी ‘चिराग’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

सेताम्य हिउँले ढाकिएको हिमाल
नीलो गगन
भाले डाँकले निम्त्याएको उषाकाल
एउटै निश्चित गन्तव्यतर्फ
लम्किरहेका यात्रीहरु
हिँडेका पथ,
क्षितिजमा उडिरहेका सेता परेवा
धान लहराएको खेत
लाग्छ शान्तिको प्रतीक ।

शान्त, स्निग्ध र सुरम्य शान्ति
जसको
खोजमा मेरो युग छ र मेरो देश
मेरो देशले खोजेको शान्ति
पक्कै होइन
हत्या पछिको सन्नाटा
न हो चुपचाप ओठ खोल्न नसक्नुको पीडाबोध
मूर्दा शान्ति ।
मन्दिर, मस्जिद, गुम्बा र चर्च
बीचको सहअस्तित्व र सहचार्य,
वर्ग, सम्प्रदाय, लिङ्ग र जातीयताको
घेरा बाहिरको आपसी सानिध्यता
विचारको कदर
हातेमालो
सहअस्तित्वबोध अनि जीवनबोध ।

श्वेत शान्ति, आपसी कहलरहित
स्वस्फूर्त शान्ति
जब
मन्दिरको घण्टसँगै देशबासी
बजाउनेछन् शान्तिको घण्ट
परेवासँगै गाउनेछन् शान्तिको गीत
नदीसँगै सुसेल्नेछन् शान्तिको सङ्गीत

प्रकृतिसँगै भर्नेछन् देशमा
शान्तिको यथार्थ रङ्ग
तब
छाउनेछ
तराई, हिमाल र पहाडभरि
मेरो देश र युगले
अपेक्षा गरेको शान्ति
सामाजिक रुपान्तरण
र आर्थिक समृद्धिको गन्तव्य ।
अहिंसापरम् धर्मको शान्ति
सहअस्तित्व, सहचार्य र प्रगतितर्फ
उन्मुख सफेद शान्ति ।

हिउँ, परेवा, उषाकाल र नीलो गगनले
निम्ता गरेको
नव युग जन्माउने
एउटा पृथक शान्ति ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।