आमाविना को छ र ? ( त्रिलोचन आचार्य)
कपन अनलाइन
काठमाण्डौ,बैशाख २९।
राख्दै जोखिम गर्भमा शिशु स्वयं टेकाउने यो धरा
निद्रा भोक भुली दिँदै मन सधैँ हुर्काउने आँकुरा
आफ्नो स्वार्थ भुलेर दिन्दिन दिने नानीतिरै जाँगर
खोज्दै यो धरती डुलौँ मरि–मरी आमाविना को छ र ?
क्यै पाए परबाट खान्छ नि ! भनी बोकेर ल्याई दिने
झिक्दा किन्तु झिजो र झोज झगडा हाँस्दै रमाई दिने
नानी रुन्छ भनेर रात भर नै रुँग्ने नमानी डर
गर्दै त्याग रमाउँने सृजनमा आमाविना को छ र ?
नानी खान रुचाउँदैन किन हो चिन्ता उनै पाउँछिन्
ताते गर्न सिकाइ कर्म पथमा माते उनै ल्याउँछिन्
आफैँ हात समाउँदै घरि–घरी लेखाउँछिन् अक्षर
छायाझैँ पछि लागि भर्न ममता आमाविना को छ र ?
नानी दुर्बल बन्छ लौन नि ! भनी तेते लगाई दिने
लौ फोहोर हुँदैन राख्नु त भनी थाङ्ना र टाला धुने
नानी सुत्न सकेन आज किन हो ? खोज्ने उनै डाक्टर
आफैँ रित्तिई ज्यान भर्न जगमा आमाविना को छ र ?
टाढा जानु हुँदैन भन्छ कसले खायो कि खाएन खै ?
चिन्ता मात्र छ नित्य सुग्घर सफा लायो कि लाएन खै ?
हुन्छन् इश्वर सृष्टिमा यदिभने आमा स्वयं इश्वर
स्रष्टा भन्न सुहाउँदो त जगमा आमाविना को छ र ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक