हेटौडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि

हेटौडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि

कपन अनलाइन

काठमाण्डौ,बैशाख २७।

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौडा महानगरपालिकाले जितेको छ । उपाधि जित्ने क्रममा हेटौंडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले पराजित ग¥यो ।
प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक–एक लाख रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता हेटौडाका सुजन चोखालले उत्कृष्ट सेटर, उत्कृष्ट लिबरो, हेटौंडाका राजन दर्लामी मगर घोषित भए । महांकाल गाउँपालिकाका जिबन सुनार उत्कृष्ट ब्लकर भए । यसैगरी, उपाधि विजेता हेटौडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।