अटिजम : रुपक राई (कविता )

अटिजम : रुपक राई (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

विध्यार्थीहरु कक्षाकोठा थर्कने गरि
चिच्याइरहँदा एकसाथ,
– ‘ए फर एप्पल, बि फर बल…….
जे फर जेब्रा’
उसको जिब्रो भने ‘ए’ मै अड्किरहेछ
ब्याट्री क्षीण भएको घडिको सुइ जस्तै !

सबैजना आआफ्नो नाम लेखिरहँदा कापिमा
ऊ अफ्नो नाउ खुसिखुसी मेटिरहेको हुनसक्छ
अरु भेट्टाइमारी खेलिरहँदा चउरमा
ऊ बिरालो लखेटिरहेको हुनसक्छ
अचम्म ! के खोजिरहेको होला ऊ रित्तो कागजभित्र ?
के चलिरहन्छ उसको मगजभित्र ?

उ तपाईंको बगैचाको सुन्दर फुल
निस्फिक्री चुडाइदिन सक्छ
ऊ तपाईंको साइकल बिनाअनुमती गुडाइदिन सक्छ
सताउनु सताएर पुषको जाडोमा पनि
तपाईंको पसिना छुटाइदिन सक्छ !
तर नबाँध्नोस् साङ्लोले क्रुरताको
नगर्नुस प्रदर्शन मुर्खताको
हे सज्जनबृन्द ! नगर्नुस् तिरस्कार हेला
नछोड्नुस उस्लाई कहिल्यै अकेला
होस् रिसानी माफ
ऊ होइन पुर्वजन्मको पाप न कसैको श्राप
ऊ होइन पागल न बिग्रेको भाकल !
ऊ त एउटा हो अवस्था
गर्नु हुन्न बेवास्ता
गर्नुपर्छ उचित व्यवस्था ।

हो, मानवबाट महामानव बन्ने होडमा
कोहि लघुमानव बन्न चाहदैन तर,
प्रगति र सफलताको दौडमा होइन ऊ सहभागी
नहेर्नुस दयाले ऊ होइन हतभागी
काँडा र फुल परको सन्सार ऊ
हारजीत भन्दा अलग धार ऊ
कैले रिसाउछ उसै कहिले दङ्ग पर्छ ऊ
भुलीरहन्छ आफैमा कुरो गर्छ आफै सँग ऊ
सप्तरङ्गी इन्द्रेणीमा नदेखिएको रङ ऊ
बरु माया र मानवताले उस्लाइ हेरौं
सहानुभूतिले होइन समानुभुतीले बेरौ
किनभने उसको दुनियाँमा
‘ए फर अटिजम’ हुन सक्छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।