तिमी र म, म र तिमी = हामी हौं : छायादत्त न्यौपाने बगर (कविता )

तिमी र म, म र तिमी = हामी हौं : छायादत्त न्यौपाने बगर (कविता )

कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

तिमी मात्र तिमी होइनौ
हेर त कतै म मिसिएको देख्छौ
हो ,म मात्र पनि म होइन
भित्रै पसेर हेर्छु वरिपरि तिमी देख्छु
तिमी र म, म र तिमी = हामी हौं
हामी एक भएर त सृष्टि हिँडेको
तिमी नठान म, मै हुँ
मसँग पनि म, मै हुँ भन्ने अहम् छैन
थाहा पाइराख अहङ्कारी आग्लो
यता डुल्छ उता दौडिन्छ अनि फर्केर
तिम्रै टाउकोमा बजारिन भ्याउँछ
हो,मलाई पनि स्वाभिमान बाँच्न देऊ
तिम्रो कोमल हृदयका पानामा निर्बाध रम्न चाहन्छु
तिमी मर्यादाको काँडा नओछ्याई खेल्न देऊ
उस्तै रुपरङ,आनीबानी र संस्कारको खोल धोएर
स्वच्छ मनसित प्रकृतिले दिएको सृष्टि सौन्दर्य
जतन गर्ने सिप सिर्जना र दायित्व लिएर
गतिमा भुँइँ टेकेर अलमल भाँचेर आऊ
दुवै काँध थापेर चारै हात एकैचोटि समाऊँ
एउटै डोरी बाटेर सँगसँगै नाप्नुपर्छ देउराली
दम्भ र दमनको भारी चटक्क छाडेर
सहज हृदयको सौगातमा स्नेह पोतेर
मुस्कानको मयेत्रो ओढ्ने उत्साहसँग आऊ
समतामा रमाउन मिल्ने गरी फराकिलो
विवेकी स्पर्श लिएर आँगनभरि उज्यालो छरौं
हामी दुवैले सँगै गोडौँ हाम्रै बगैंचा
यही हावापानीले हुर्काइरहेका बहुरङ्गी फूल
अनि यसका कलकलाउँदा बिरुवाहरू ।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।