रुन्छ मेरो मन : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )

रुन्छ मेरो मन : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )

कपन अनलाइन

काठमाण्डौ, चैत २।

अक्सर गरेर मान्छे
जति हाँस्छ नि
उति नै ऊ
रुन्छ पनि ।
म पनि रुन्छु
किन कि
म पनि त
तिनै मान्छे
भित्र कै
एउटा मान्छे हूँ ।

जब अतितका
घाउका खाटाहरु
कोट्याई दिन्छ
वर्तमानले,
तब चस्स घोच्छ
अनि रुन थाल्छ मन ।
सृजनाका जंघार
तर्दै जाँदा
विभक्त धेरै
भङ्गालाहरुमा
भावनाका डुङ्गा
खियाउने क्रमसँगै
उठेका बढेमानका
छालहरुमा ठोकिएर
गन्तव्य भुलिन
थाले पछि
प्राप्ति र अभावको
दोबाटोमा उभिएर
टोलाए पछि
रुन थाल्छ मन ।

मिलनको थुप्रै
अविस्मरणिय यादहरु
बिछोडका अक्करिला
दृष्य परिदृश्यमा
ठक्कर खाएपछि
बयलिन्छन मनोभावहरु,
पाउनु र गुमाउनुको
उत्पिडनमा छट्पटाउनु
पर्दा रुन थाल्छ मन ।

विश्वासको धरातलमा
धाँजा फाटेर
घात प्रतिघातका
गहिरा खाडलहरुमा
अल्झिएर
आशा र भरोसाहरु
ढलेको बेला
खुशी चोटिएर
टुक्रा टुक्रा भए पछि
रुन थाल्छ मन ।

आमाको काख छुट्दा
साथीभाइसँगको
विश्वास टुट्दा
जीवनका आशा र
भरोसाहरु भत्किदा
ज्युनुको सार्थकता
हराउँदै गएपछि
हतास बन्छ मन ।
स्मृतिको आकाशमा
विस्मृतिका बादल
मडारिदै जान्छन्
देशभित्र राष्ट्र
खोज्नु पर्दा
घरभित्र बास खोज्नु पर्दा
आफै भित्र
आफैलाई खोज्नु पर्दा
रुन थाल्छ मन ।।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।