इमान्दार : त्रिलोचन आचार्य (कविता )

इमान्दार : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

छोराले प्रश्न यो राख्यो इमान बस्छ खै कता ?
म भन्छु नदी गर्दैछन् इमान पालना सदा
सेवाकर्म गरे हुन्छ इमान नित्य झल्मल
लाग्छ इमान राखेर अनेकौँ बोटमा फल ।

बोकी इमान कुद्दैछ घाम आकाशमा सधैँ
इमान पालना गर्दै याम हिँड्दछ दौडिँदै
हिँड्छन् इमानको बाटो जून तारा मिलीकन
कुर्छन् इमानले माटो फूल थुँगा फुलीकन ।

सच्चा इमान आगोमा देखाउँदै छ तापले
सच्चा इमान माटोमा चम्किँदा सिर्जना चले
सच्चा इमान आमाले पोको पारेर राख्दछिन्
सच्चा इमान छायाले साथी बनेर बोक्दछन् ।

कहाँ इमान बोक्छन् र ? लुटमा दौडनेहरू
कहाँ इमान रोप्छन् र ? झुटमा पौडनेहरू
कहाँ इमान साँच्छन् र ? हिँड्छन् जो स्वार्थमा बिकी
इमान कसरी बाँचोस् बल्दैन श्रमको टुकी ।

नाँच्दै छ गरिबी चर्को सुखको कोट चाहियो
नाघ्न चुनावको टेको जस्तो होस् नोट चाहियो
नोटकै आडमा धेरै धेरैको भोट चाहियो
सुक्दा इमानको बोट नराम्रो चोट पाइयो ।

सत्यको खोजमा हिँड्नु कर्मको सारथी लिई
त्यागका पिङमा खेल्नु चित्त विश्वासमा दिई
सद्भावका पँधेराको पानी खानु रमाउँदै
त्यहाँ उठ्नेछ हाँसेर इमान जुर्मुराउँदै ।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।