पार्वती भट्ट र अनिदा सपनाहरू : ममता मृदुल (समिक्षा)

पार्वती भट्ट र अनिदा सपनाहरू : ममता मृदुल (समिक्षा)

कपन अनलाइन

काठमाडौं, फागुन १९।

विषय प्रवेशः
बुवा भुवानन्द भट्ट आमा देवादेवी भट्टको सुपुत्रीका रूपमा पार्वती भट्टको जन्म भएको हो । पार्वती भट्ट कविता मुक्तक लेख्नु हुन्छ । पार्वतीले मुक्तकका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गरेर परिवर्तनको सोच राखेको पाइन्छ । जीवन भोगाइका क्रममा देखेका विषयमा लेखिएका मुक्तक रहेका छन् ।
आयामः
संक्षिप्त आयामका मुक्तक छन् । चतुष्पदिय मुक्तक लेखिएका छन् । दुई सय बाइसवटा मुक्तक सङ्ग्रहमा सङ्गृहित छन् । सरल रूपमा लेखिएका मुक्तकमा विविध विषय समेटिएका छन् ।
मुक्तक सङ्ग्रहभित्र पस्दाः
पहिलो मुक्तक
कहिले शान्त शीतल जून कहिले सुन्दर फूल भैदिनु
समय परिस्थितिभन्दा पनि तिमी अनुकूल भैदिनु
म खहरे हुँ रसाउन पनि सक्छु सुक्न पनि सक्छु
प्रिय फूल ! तिमी सुक्दै नसुक्ने मायाको मूल भैदिनु ।
माया गरेर आफ्नो प्रिय मान्छेलाई आफूले चाहना राखेको अनुरूप भैदिन भन्नुभएको छ ।
पचहत्तर नम्बरको मुक्तक
गाउँको निर्दोष मायालु मन
पीडामा सुकेर गएको तन
वेदना भित्र बोकेर मुस्कान
नफुल्दै वैली झरेको जोवन
गाउँमा बसेर कर्म गर्ने आदरणीय व्यक्तिका बारेमा प्रेम व्यक्त गरिएको छ । ती मान्छेलाई सम्झन कसैलाई फुर्सद हुँदैन । जस्को जोवन वैली झरेको हुन्छ ।
एक सय सत्ताइसमा
देखावामा माया गर्छु भनी साध्य छैन
अल्झाएर बल्झाएर पनि साध्य छैन
मित्रताको भावनाको साटासाट हुँदा
तिम्रै हुन्छु भन्नेहरू गनी साध्य छैन
झुट बोलेर माया गर्छु भन्ने मान्छे गनी साध्य छैन तर मित्रताको भावना साटासाट गर्दा मायाले भन्ने मान्छे पाइन्न भन्ने भाव रहेको छ ।
एक सय तिरहत्तरमा
निदरीमै थिए म त सपनीमा तिमी आयौं
बिथोलेर सपनाहरू भन तिमीले के के पायौं ?
धित मारी रुनु थियोे मैलो धैलो धुनु थियोे
नबुझेर मनको बह मात्र तिमी मुस्कुरायौं ।
सपनामा आएका मान्छेसँग धित मरुञ्जेल रुनु थियोे । मनको पीडा धुनु थियोे तर सबै सपना बिथोलेका मनका पीडा नबुझ्ने प्रेमीले मनका भाव नबुझ्ने अथवा बुझ्ने नचाहने र बाहिरी रूपमा देखाएको देखिन्छ । प्रेमीले भाव नबुझी मुस्कुराउनु राम्रो लागेको
छैन ।
अन्तिम मुक्तक
तिम्रो याद आउँदै नआओस भनेर आफ्नै मुटुलाई पत्थर बनाउनु छ
रविको किरण जूनको रश्मि र हावाको वेगलाई मत्थर बनाउनु छ
तिमी पग्लिने आशैआशमा न हो जिन्दगी खण्डहर बनेको पनि
अब यी भिजेका परेली सोस्ने एउटा आँसुकै चद्दर बनाउनु छ ।
प्रेममा मन दुखेको छ ।
उसको याद नआओस् भन्ने चाहना गरिएको छ यो सम्भव छैन भन्ने पनि थाहा छ । उसले फेरि आउनु पर्छ भन्ने आस पनि छ । भिजेका परेली सोस्ने चद्दर बनाउने मन पनि छैन तर थाहा छ बनाउनु पर्छ ।
भाषाशैलीः
अनिदा सपनाहरू मुक्तक सङ्ग्रहमा  नेपाली भाषामा लेखिएका मुक्तक छन् । प्रेम, धोका, समाज, राजनीति, हिमाल, पहाड, उकाली, ओराली, नदी, खहरे, फूल तस्बिर जस्ता सुन्दर विषयलाई बिम्ब बनाएर लेखिएका मुक्तक छन् । प्रेममा परेपछि पाएको भरोसा तोडिएको छ । राजनिती गर्नेले धोका दिएका छन् । कतै प्रेममा चुर्लुम्म डुबिएको पनि छ । तुक, अनुप्रास मिलाएर लेखिएको छ । भाषामा सचेतता देखिन्छ । सटिक शूक्ष्म दृष्टिकोण रहेको छ ।
परिवेशः
नेपाली भूमिका विभिन्न ठाउँ सुन्दर दृश्यलाई परिवेश बनाएर लेखिएका मुक्तक छन् । कालापानी, लिम्पियाधुरा, मन्दिर, सुदुरका सुन्दर उकाली ओराली, नदी, पहाडआदीलाई समेटिएका छन् ।
उद्देश्यः
अनिदा सपनाहरू मुक्तक सङ्ग्रहभित्रका मुक्तकमा समाजका विकृति विसंगतिलाई केलाइएको छ । प्रेममा गरिएको भरोसा नतोड्न सचेत गरिएको छ । विश्वासको फुल भत्किएपछि जोड्न कठिन हुन्छभन्ने भावका मुक्तक छन् । सपनाको महल बनाउन सजिलो भए पनि ब्युझिँदा हुनेछैन भन्ने भाव पनि व्यक्त गरिएको छ। मनभित्र भएको चाहना असल्ल छोड्न पनि सकिन्न जीवनमा घट्ने विविध पक्षलाई समेटेर सचेत गर्ने मात्रै नभएर सकारात्मक सोच रहनुपर्छ भन्ने उद्देश्यले लेखिएका मुक्तक छन् ।
निश्कर्ष :
अनिदा सपनाहरू मुक्तकभित्र बेरोजगारी, नामको खोजी, युवालाई स्वदेशमा नै काम दिन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ, जीवनका परिभाषा, राजनीति प्रतिको व्यङ्ग्य, गरिएको छ । प्रेमको परिभाषा, आफ्नो परिवेशलाई समेटिएका छन् । सुदुरका हरिया डाँडाकाँडा मन परेका कुरा छन् । सुन्दर चाहना राखेर लेखिएका मुक्तकले आफ्नो हरेक पक्ष खोजी गरेको छ । समाजमा देखिएका पक्षसँग न्याय खोजिएको छ । मुक्तककार पार्वती भट्टको सफल साहित्ययात्राको कामना गर्दै आजलाई विदा माग्छु ।
तपाइँको प्रतिक्रिया ।