भदौ दोस्रो सातासम्ममा संविधान जारी हुन्छः नेपाल

विराटनगर, २८ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भदौको दोस्रो सातासम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
biratngar
विराटनगरस्थित एमाले पार्टी कार्यालयमा आज कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले नेपालीबीचको सम्बन्धलाई बलियो बनाउन र विकासको गतिलाई तीव्र बनाउनका लागि अब जारी हुने संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो–“सङ्घीय राज्यको सीमाङ्कनको विषयमा आन्दोलन गरेर होइन कि संयमित भएर शान्तिपूर्ण वार्ताद्वारा समस्या समाधान गर्न म आन्दोलनकारी समूहलाई आह्वान गर्छु, अधिकारको कुरा धेरै भयो, अब सबै कर्तव्यको भूमिका निर्वाह गर्नुपर्छ ।”
उहाँले संविधानमा मधेसी, दलित, सीमान्तकृत वर्ग, महिलालगायत सबैको अधिकार क्षेत्रलाई सुनिश्चित गरिएको बताउनुभयो । उहाँले संविधान जारी भएपछि लगत्तै स्थानीय निकायको निर्वाचनसमेत हुने भएकाले कार्यकर्तालाई सङ्गठनलाई बलियो बनाउनका लागि अग्रसर हुन निर्देशन दिनुभयो ।

सो अवसरमा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले सामाजिक सद्भाव बिथोलिने कार्य कतैबाट हुन नहुने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।