काठमाण्डौ महानगरको कार्यपालिका बैठक :जग्गा भोगाधिकारका विषयमा महत्वपूर्ण निर्णय

काठमाण्डौ महानगरको कार्यपालिका बैठक :जग्गा भोगाधिकारका विषयमा महत्वपूर्ण  निर्णय

कपन अनलाइन

काठमाण्डौ ,फागुन २ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज कार्यपालिकाको २८ औँ बैठक सम्पन्न भएको छ । काठमाडौँ प्लाजा कमलादीमा बसेको बसेको बैठकका लागि विविधसहित १६ वटा प्रस्ताव थिए ।

बैठकमा महानगरपालिकाको वडा नंं २९ मा नेपाल सरकारको नाममा रहेको जग्गा भोगाधिकार प्राप्त गर्ने, आर्थिक बर्ष २०८१/०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा तयारीका सिलसिलामा पूरा गर्नुपर्ने विभिन्न चरणमध्ये विषयगत क्षेत्र विभाजन गर्ने र सदस्यलाई जिम्मेवारी दिन कार्यपालिकाबाट निर्णय गर्नु पर्ने व्यवस्था छ ।

महानगरपालिकामा यस अघि नै विषयगत समितिहरु गठन भइसकेकाले गठित समितिहरुलाई जिम्मेवारी दिने निर्णय भएको छ । राष्ट्रिय योजना आयोगबाट लागू गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ मा योजना तर्जुमाका ७ वटा चरण तय गरिएका छन् ।

बैठकमा उपप्रमुख सुनिता डंगोलले अष्ट्रेलिया भ्रमणको प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रतिवेदन प्रमुख शाहलाई बुझाएकी थिइन्।  बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

बैठकमा विषयगत समितिका संयोजकहरुले आफूसँग सम्बन्धित प्रस्तावहरु राख्नुभएको थियो । यसरी प्रस्ताव पेश गर्नेहरुमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, विधायन समितिका संयोजक मचाराजा महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र राजस्व समितिका सदस्य एवं वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ रहेका थिए।

उनिहरुले राखेका  प्रस्तावहरुमा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, वित्त समितिका संयोजक इश्वरमान डंगोल, वडाध्यक्षहरु सरोज ढकाल र उदयचुडामणि बज्राचार्य, कार्यपालिका सदस्यहरु अनिता कार्की ढली, मीना सिंह र महेश नेपाली, कार्यवाहक अध्यक्ष हीरादेवी पोखरेलले आफ्ना धारणा राखेका थिए ।

प्रशासनिक विषयमा बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले स्पष्ट पारेका थिए भने  प्रशासन विभागका प्रमुख दिपक अधिकारी, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य र बजेट तथा अनुगमन महाशाखा प्रमुख बिकास चित्रकारले पनि धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।