राससका नवनियुक्त महाप्रबन्धक आचार्यको पदबहाली

राससका नवनियुक्त महाप्रबन्धक आचार्यको पदबहाली

काठमाडौँ, १९ साउन । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक निर्मला आचार्यले आज पदबहाली गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले उहाँलाई महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । मुलुकको एकमात्र समाचार समितिको ५४ वर्षको इतिहासमा आचार्य प्रथम महिला महाप्रबन्धक हुनुभएको छ । सरकारले २०७३ माघ ६ सम्मका लागि उहाँलाई नियुक्त गरेको हो ।

Acharya Joins RSS as a First Women GM

त्रिविबाट इतिहासमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका आचार्यले राससमा समाचारदाताका रुपमा २०५० सालमा सेवा प्रवेश गर्नुभएको थियो । आचार्य यसअघि संस्थामा वरिष्ठतम् नायब महाप्रबन्धक हुनुहुन्थ्यो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले नवनियुक्त महाप्रबन्धकको स्वागत गर्दै संस्थाको हितका लागि मिलेर काम गरिने बताउनुभयो ।

उहाँले राजनीतिक नियुक्ति भएको अवस्थामा बाहेक सरकारी सञ्चारमाध्यममा कर्मचारीमध्येबाटै उच्चतम् पदमा पुग्ने आचार्य नै पहिलो महिला व्यक्तित्व भएको पाइएको उल्लेख गर्नुभयो ।

नवनियुक्त महाप्रबन्धक आचार्यले आपसी समन्वय गरी आफ्नो तर्फबाट गर्न सकिने कामका लागि सदैव तत्पर हुने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो– “सबैलाई विश्वासमा लिएर हार्दिकताका साथ काम गर्नेछु, राससको हित नै मेरो पनि सर्वाेपरी हित हो, यसमा सबैको सहयोग आवश्यक छ ।”

रासस सञ्चालक समिति सदस्य गङ्गाधर पराजुलीले संस्थाभित्रैबाट महाप्रबन्धक हुनुपर्छ भन्ने आफ्नो पनि चाहना रहेको जनाउँदै भोलिका दिनमा पनि यहीँभित्रका वरिष्ठ, योग्य र क्षमतावान् कर्मचारी सो पदमा पुग्नुपर्ने बताउनुभयो । उहाँले राससको पहुँच देशव्यापी बनाउन सरकारबाट अनुदान ल्याउन, यसका सम्पत्तिको सदुपयोग तथा कार्यरत अस्थायीलगायत सहकर्मीका समस्या समाधानमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, सञ्चालक समितिका सदस्यत्रय पराजुली, शेखर रेग्मी, सूर्यचन्द्र बस्नेत, प्रधान सम्पादक राजु शाक्यलगायत उपस्थित हुनुहुन्थ्यो ।

महासङ्घ शाखाको आभार

यसैबीच, नेपाल पत्रकार महासङ्घ रासस शाखाको आज बसेको बैठकले महाप्रबन्धकमा नायब महाप्रबन्धक तथा महासङ्घका सभासद् आचार्यलाई नियुक्त गरेकामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

शाखाका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले मुलुकको एकमात्र समाचार समितिको ५४ वर्षको इतिहासमा पहिलो महिला महाप्रबन्धक हुनुभएकामा आचार्यलाई बधाई दिँदै कार्यकाल सफलताको कामना पनि गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।