काँडे भ्याकुर वसन्त गाउन्न : लिलानाथ गौतम (कविता )

काँडे भ्याकुर वसन्त गाउन्न : लिलानाथ गौतम (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

पहाडी कन्दरामा
घना जङ्गलका लता वृक्षमा
ठुँड उचालीउचाली
वसन्तगाउने काँडेभ्याकुर
आजकाल, वसन्तमा पनि वसन्त गाउन्न !

उसलाई अर्काको गुँडमा
फुलपार्ने काली कोइलीको
कुहुकुहु पनि झर्को लाग्छ !
काफल पाक्यो चरीको सन्देश
मुटुको घाउ कोतर्न आएझैँ लाग्छ !

न त उसलाई कोइलीको कुहुकुहु
न त काफल पाक्योको सन्देश
न त मलेवाको कलरव
केही सुन्नु छैन !
यी त उसकालागि
मात्र तित्राको कर्कश !

ऊ अर्थात् ! काँडेभ्याकुर !
अझ सामान्य ज्ञानको किताबले भन्छ–
नेपालमा मात्र पाइने चरा !

कैँयन वसन्तदेखि उसले
वसन्त गाएकै छैन ।
बचेराको वियोगमा
संसार भुल्यो उसले !
बूढो रुखका पात बिहिनहाँगाहरु
रित्तो गुँड ! नाङ्गो रुख !
बचेराबिहिन बुढी माऊ !
ऊ कसरी गाओस् हरियालीको गीत?
कसरी गाओस्भरिभराउ वसन्तको गीत?

उसलाई काँडेभ्याकुर
नेपालमा मात्र पाइने कुराले
हाँसो लाग्छ !
र च्यात्न मन लाग्छ
सामान्य ज्ञानका किताब !
अनिलेख्न मन लाग्छ
नयाँअध्याय !
जहाँलेखियोस्
काँडे भ्याकुरका बचेरा
उदयाचलदेखि अस्ताचल सम्म पाइन्छ !
कुनै दसगजाले रोक्दैन उसलाई !
न त म्याकमोहनलाइन
न त ४९ औँ प्यारेलललाइन
कुनै पनि अन्तर्देशीय सीमारेखाहरुले
छेक्दैन वचेराको उडान !

बरु ! काँडे भ्याकुरका बचेरा
बस्दैनन् आफ्नै गुँडमा !
खेल्दैनन् आमाको काखमा !
रमाउँदैनन आफ्नै रुखमा !
ठुँड बलियो भएपछि
पखेटामा तागत भरिए पछि
गर्दछन् स्वच्छन्द उडान
र पार गर्छन् सागर, महासागरहरु !
महादेशीय सीमारेखाहरु !

काँडे भ्याकुर आफ्नी प्रियाको वियोगमा
एक्लै गाउँछ बिरहको गीत !
अहँ ! ऊ गाउन्न उजाड जीवनमा
वसन्तको गीत !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।