ताजा छ यो वास्तव : चन्द्रमणि अधिकारी (कविता )

ताजा छ यो वास्तव : चन्द्रमणि अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ६।

सच्चा स्नेह खुला सफा हृदयको पाएँ बडो सार्थक
आए अक्षर यी बसे हरफमा बन्दै अनेकार्थक
आत्मा शुद्ध पवित्र जो सरलता वार्ता खुला पाइयो
पार्दा रोचक भावना सुगम यी सञ्चार रङ्गाइयो ।।१।।

होला पोषक मेलजोल गहिरो भन्दैछ श्रष्टा मन
पार्ने उन्नत चाखमा छु कविता भेटी सदा सज्जन
छन् साथी घरमा कला भगवती निर्धक्क भन्दा कुरा
चढ्ने सुन्दर कामना छ मनमा साहित्यका टाकुरा ।।२।।

पाएँ सिर्जनशीलता गजबको आनन्द मानें अति
राख्ने माग भयो विलक्षण प्रभा छागरें गरी सम्मति
पक्का व्यक्त गरें सहर्ष कविता आनन्ददायी अब
आओस् चाख छ काव्यमा हजुरको संस्कारको गौरव ।।३।।

यो औचित्य खडा गराउनुभयो संक्षेपमा जो भनेँ
झन् आल्हादित चाखमा हरफ यी आफैं उज्याला बने
निष्ठा नैतिकता उजागर बने उल्लासका काइदा
राम्रो मेल बढोस् उदात्त मनमा मिल्ने गरी फाइदा ।।४।।

लेख्ने गर्दछु काव्यका हरफ यी जस्ता जहाँ आँउछन्
पढ्ने पाठकले समस्त सुविधा स्वाध्यायका पाउँछन्
आत्मा भित्र सदा सफा नियतको ऊर्जा मिलेको नव
पाएको करुणा छु जो किरण झैं ताजा छ यो वास्तव ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।