हिमाल : गङ्गा आचार्य सापकोटा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
जमेर बस्दा हिउँ रूप लिन्छ
पग्लेर खस्दा जलबन्न पुग्छ
जन्मे यसैबाट नदी र ताल
नेपालको गौरव हो हिमाल।।१।।
टलक्क चाँदीसरि टल्किएको
हो झैँ कि आभूषण कल्पिएको
आयो सजायो कसले कमाल
नेपालको गौरव हो हिमाल।।२।।
मुसुक्क हाँसेर नियाल्छ उस्तै
सद्भावना छन् यसमा प्रशस्तै
सम्मोहनी जादुगरी छ चाल
नेपालको गौरव हो हिमाल।३
अपार आस्था यसमा छ खास
गौरी तथा शङ्करको निवास
हामी सबैको जगदीशपाल
नेपालको गौरव हो हिमाल।४
असङ्ख्य विख्यात विशेषतामा
सर्वोच्चतामाअनि दिव्यतामा
संसार ढाक्ने गुणले विशाल
नेपालको गौरव हो हिमाल।५
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।