धर्ममा नयाँ सहमति र नागरिकताको विषयलाई थप स्पष्ट पारिने

काठमाडौँ, १२ साउन । प्रमुख चार राजनीतिक दलले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएको सुझावलाई आधार मानेर धर्मको विषयमा नयाँ सहमति र नागरिकताको अस्पष्टतालाई स्पष्ट पार्ने भएका छन् ।

1437890209324_AR-KTM-Four Poltical Party-3
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको चार दलका शीर्ष नेताको बैठकले जनताबाट प्राप्त सुझावका आधारमा धर्मको विषयमा नयाँ सहमति र नागरिकताका सम्बन्धमा देखिएको अस्पष्टतालाई स्पष्ट पार्ने निर्णय गरेको बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो – “जनताबाट प्राप्त सुझाव हिजो संविधानसभाका अध्यक्षसमक्ष पेस भएको छ । नागरिक सम्बन्ध समितिले आज सुझावहरु संविधानसभामा पेस गर्दै छ । केही मूल विषयमा अझै सहमति गर्न बाँकी भएकाले त्यसमा छलफल भइरहेको छ । संविधान सीमाङ्कनसहित घोषणा गर्ने तबरबाट छलफलको क्रम बढेको छ ।”

संविधानलाई अधिकतम स्वीकार्य बनाउन मस्यौदामा असहमति राखेका दलहरुसँग पनि भोलि छलफल गरिने भएको उहाँले बताउनुभयो ।

एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको मस्यौदामाथि विभिन्न संवैधानिक अङ्गका पदाधिकारीले पनि सुझाव दिने भएका कारण उहाँहरुसँग पनि छलफल गरिने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।