भाइटीकाको उपहार : स्वर्णिम सापकोटा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
‘आहा ! पाँच वर्षपछि दिदीको हातबाट टीका लाउन पाइने भयो ।’ कमल खुसीले फुर्फुर भयो ।
‘हेर न दिदीले उपहार ल्याइदिन्छे भनेर मख्ख परेको ।’ उसकी आमाले पनि मुसुक्क मुस्कुराउँदै भनिन् ।
कमल दिदी आउने दिन गनेर बस्यो । दिदी आउने दिन ऊ पनि दिदीलाई लिनको लागि विमानस्थल गयो । दिदीलाई भेट्नासाथ दिदीसँग टाँसिएर धेरै बेर रोयो । अरुले पनि आँसु थाम्न सकेनन् । उसले दिदीलाई देखाएको त्यो आत्मीयता झन् प्रगाढ बन्दै गयो ।
भाइटीकाको दिन उसलाई दिदीले विदेशबाट ल्याइदिएको एन्ड्रोइड फोन उपहार दिई ।
‘दिदी मलाई यो उपहार होइन, मलाई अर्कै उपहार चाहिएको छ । दिनुहुन्छ भने म अहिल्यै मागिहाल्छु है ।’
उसका कुरा सुन्नासाथ दिदीले भनी, ‘होइन फेरि के फकाउन लाग्यौ तिमीले ? ल ल, छिटो भन, सक्ने भए दिन्छु ।’
‘दिदी ! तपाईंजस्तो योग्य मान्छेले विदेशमा बसेर मलाई फोन होइन, यही देशमा बसेर नेपाल आमालाई योगदान दिनुहोस् न ।’ कमलले बडो भावुक भएर भन्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।