राहत : टीकाराम रेग्मी (लघुकथा)

राहत : टीकाराम रेग्मी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

‘खान जन्मेको !’ काखैमा हराएको तीन दिने बालकलाई हेर्दै मङ्गलीले यति भन्दा उसको अनुहार कालो निलो भैसकेको थियो । ‘पेट भोको भा’नि घाम लाग्दे ज्यान त तात्तो !’ ऊ मनमनै बोली ।
‘एउपाली भने’सि त मान्नु नि ।’ आइतसिँह च्याट्ठिँदै बोल्यो । उसको कुरा भुइँमा झर्न भ्याएको थिएन होला, मङ्गलीले उसलाई पुलुक्क हेरी । अनुहारमा पोतो त बसेकै थियो, बादल लाग्यो । अनि, काखमा हराइरहेको बालकतिर फर्की । अहिले त उसको अनुहार झन् वैराग लाग्दो देखियो ।
‘हल्लायो, हल्लायो । फेरि हल्लायो ।’ गाउँतिरबाट फेरि चर्को आवाज आयो ।
‘अलिकति यता सर् त ।’ आइतरामले भन्यो तर मङ्गलीले सुनेको नसुनै गरी ।
‘हैन, बाँच्नु मन छैन क्याओ ? ऊ, हेर् त, हिजो चर्केको बान्डो ढल्नै लाग्यो ।’ ऊ फेरि करायो ।
‘अब पनि कति बाँच्न परो ?’
उसले आइतेलाई सुनेको नसुन्यै गरेर भनी ।
‘नआत्तिई, ऊ हेर् त, खानेकुरा बाँड्न आका ।’ मङ्गलीकी छिमेकी भाउजु नजिकै आएर बोली । यस बोलीले अलिकति आशा जागेछ कि, मङ्गलीले सकिनसकी टाउको फर्काई ।
खडेरीको काकाकुल भएर बाटोभरि आँखा ओछ्याएका मध्ये केही सक्नेहरू हुरुरु दौडे । दुईचार पोका चाउचाउ, दालमोट र बिस्कुटका पुडिया हात पारे । दाताहरूले ङिच्च हाँस्दै केही फोटा खिचे ।
‘ए यी नानी त सुत्केरी रैछन्, यस्तो जाबो के दिनु ? अर्को गाडीमा पोषिलो खानेकुरा अउँदैछ, पर्ख !’ ल्याएको झोला रित्तिएपछि स्थानीय नेतोतिर पुलुक्क हेर्दै एउटा दानवीर बोल्यो । सुन्तलीले परेला थिची । आँखाबाट तातो झोल बग्यो ।
हत्केलामै बिलाएको बच्चो सकिनसकी रोइरहेको थियो । उसले छातीमा टाँसी । बच्चोको रुवाइ मधुर हुँदै बिलायो । सुन्तली एकपटक फेरि डाँको छाडेर रुन थाली ।
‘ऊ ऊ, हेर त चारोटा गाडी आका ।’ यसै बेला कसैले भन्यो । प्रतीक्षामा रहेका सबैले उतै हेर्दै थिए । राहतको आशामा खुलेका आँखा र कानले सुन्तलीलाई सुन्न भ्याएन । त्यसै बेला कोही बोल्यो – भो आशा नगर, तिनै गाडी पनि मन्त्रीले कब्जा गरो अरे । सुन्तलीका आँखा भुइँतिर ओर्ले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।