साँहिला बा : भोलानाथ सुबेदी (कविता )

साँहिला बा : भोलानाथ सुबेदी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

बिहान भाले नबास्दै
आँगनमा उज्यालो नखस्दै
जुरुक्क उठ्छन् साँहिला बा
आग्लो सार्छन जस्केलो खोल्छन्
उनी गाउँलाई उठाउन उठ्छन्
रातलाई लघार्न उठ्छन्
झिसमिसे मै गग्रेटोमा पुग्छ पानी
ठोसाठोस पारेर दाउरा
सल्काउनु छ आगो
फत्काउनु छ झ्यागामा खोले
साँहिला बा हातमा उठेका ठेला हेर्छन
थाप्लोमा नाम्लोको डाम छाम्छन्
एउटा नाम्लोको पातो छिने
आफ्नै थाप्लो नापेर बनाउँछन् अर्को
भोकै सुतेका रातहरु सम्झन्छन्
छाला उर्चेका हातले भैसीको ढाड माड्छन्
डडाल्नोमा पसिनाले भिजेको दौरा
थाप्लोमा डोरा खुस्केको टोपी
बतासले दछारेको घरको धुरी
छिन्न लागेको भैसीको दाम्लो
बारीको पाटोमा कराइरहेका बाख्रा
उनको फुर्सदका बेफुर्सद हुन्
उनलाई थाहा छ
किस्ताबन्दीमा बितेको उमेर आफ्नो भएन
छोरालाई अंश दिने जमिन उनीसँग छैन्
छोरीको बिहेमा दाइजो दिने सम्पत्ति छैन्
यिनै दुःखलाई आदत मानेर
हाँसिरहेछन् साँहिला बा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।