तिहार : त्रिलोचन आचार्य (कविता )

तिहार : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १८।

१. हट्यो कालो मैलो गाथ चम्यो धराको
मिल्यो घुम्टो खोल्ने चाहना श्रृङ्खलाको
बिदा मागी लागे घोर वर्षाद टाढा
अहो ! जाडो गर्मी छैन छन् दङ्ग डाँडा ।

२. हुँदा आँधी व्याधी दूर, मैदान हाँसे
फुली थुँगा राम्रा दिव्य उद्यान हाँसे
उडे पंक्षी हाँस्दै धान पाक्यो गरामा
अहो ! बेला छम्छम् नाँच्न थाल्यो धरामा ।

३. पँहेलै छन् पाखा फूल फुल्दा ढपक्क
यसै बेला घुम्दै पर्व आए छपक्क
मिठो खाऊँ भन्ने त्यो दशैँले सिकायो
त्यही बाटो आयो रङ्ग दीपावलीको ।

४. भन्यौँ पंक्षी प्यारा काग पूजा गरेर
अहा ! राम्रो दौड्यो फेरि कुत्ता पुजेर
सधैँ प्यारी गाई पुज्नलाई हतार
गर्यौ  लक्ष्मी पूजा पर्वको यै छ सार ।

५. गरी पूजा मान्यौँ मानकै पर्व हो यो
चल्यो भैलो द्यौसी शानकै पर्व हो यो
दिदी बैनी टीका लाउँछन् प्रेम घोली
रमाऊँ यै बेला दिव्य विश्वास लोली ।

६. टुटेका जुट्दै छन् जोड्छ आई तिहार
नखुल्ने खुल्दै छन् खोल्छ आई तिहार
विरानोमा न्यायो औधि राम्रो तिहार
खुलौँ मिल्दै बाँचौँ भन्छ हाम्रो तिहार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।