रगत झिकेर युवानेताले सडकमा पोखे

चितवन, २० जेठ
हिजो  शुक्रबार बिहान झन्डै ८ बजे भरतपुर चौबीस कोठीमा युवानेता जम्मा हुन थालेे । नेताहरू चौबीस कोठीमा आएपछि धेरैले सोचे फेरि आन्दोलन सुरु भयो । अब भाषण हुन्छ र दर्शकलाई उत्तेजित पार्दै नाराजुलुस हुन्छ । सर्वसाधारण पनि चौबीस कोठीमा टाँगिएको ब्यानर अघिपछि झुम्मिन थाले । तर त्यहाँ न भाषण भयो, न त कुनै नाराजुलुस नै भयो ।
युवा विद्यार्थी नेताले संविधान नबनाएकोमा गरेको शुक्रबारको विरोध कार्यक्रममा अनौठो दृश्य देखियो । विगतमा भन्दा फरक शैलीमा उनीहरूले सरकार र सभासद्हरूको विरोध गरे । विभिन्न दलसम्बद्ध युवा नेताले आफ्नो शरीरबाट रगत निकालेर बाटोमा पोख्दै संविधान नबनेकोमा विरोध गरे । उनीहरूले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले असंवैधानिक रूपमा निर्वाचन घोषणा गरेर जनतामाथि धोका दिएकोले जनतासँग माफी माग्नुपर्ने बताए ।
‘राष्ट्रिय स्वाधीनता एवं राजनीतिक निकासको लागि दबाबमूलक कार्यक्रम’ लेखिएको ब्यानरमुनि वाइसियल, तरुण दल, युवा संघ नेपाल, प्रगतिशील युवा संघ, अखिल क्रान्त्रिकारी, नेविसंघ, अनेरास्ववियु र अखिल छैटौँका नेताले आफ्नै शरीरको रगत झिकेर सडकमा पोखेका हुन् । दलहरूको कारण १४ जेठमा संविधान नबनेकाले विरोधस्वरूप रगत पोखेको अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज भट्टले बताए ।
उनले भने ‘जनताको त्याग र बलिदानको अवमूल्यन गर्दै संविधान सभानै विघटन गर्नु नेताको अदूरदर्शिता हो, सत्ताको मोहमा लागेर नेताहरूले संविधान जारी गर्न असफल भएपछि जनताको रगत यसरी नै खेर गएको छ ।’
उनीहरूले विभिन्न अस्पतालका प्राविधिकहरूको सहयोगमा हातबाट झिकिएको रगत सामूहिक रूपमा एकैपटक सडकमा पोखेका थिए । आधा घन्टा चक्काजाम गरेर उनीहरूले रगत पोखेका हुन् । वाइसियल उपाध्यक्ष केशव शर्मा, तरुणदल कार्यवाहक सभापति रामकुमार श्रेष्ठ, युवासंघ अध्यक्ष प्रल्हाद प्रधान, प्रगतिश्ाील युवा संघ अध्यक्ष सन्तोष श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष रुद्र भट्टराई, नेविसंघ अध्यक्ष उत्तम जोशी, अनेरास्ववियु अध्यक्ष निरज भट्ट र अखिल छैटौँ अध्यक्ष रमेश केसीले संयुक्त रूपमा आफ्नै शरीरको रगत पोखेर विरोध जनाएका थिए ।
दलका नेताले चार वर्ष बितिसक्दा पनि संविधान जारी गर्न नसकेर जनता विरोधी गतिविधि देखाएको अखिल छैटौँ अध्यक्ष रमेश केसीले बताए ।
उनले भने ‘जेठ १४ गते संविधान जारी नहुनुलाई राष्ट्रप्रतिको कुठाराघात भएको ठहर गर्दै रगत पोखेर सांकेतिक विरोध जनाएका हौँ, यो जनताको रगत खेर गएको अभिव्यक्ति हो ।’
उनीहरूले गरेको अनौठो विरोधको शैली बिहान नौ बजे सकिएको थियो । दर्शकहरूले दिनभर चक्काजाम र हडताल गर्नुभन्दा विरोधको यो शैली राम्रो रहेको बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत २१ जेठमा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने र २२ जेठमा अन्तरक्रिया कार्यक्रम गर्ने उनीहरूले
बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।