परख : सुशिल कोइराला (कविता )

परख : सुशिल कोइराला (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।

मेरो चाहको अझै छ कि बाँकी असर त्यो नि हेरुँ
उनलाई अझै छ कि मेरो खोजखबर त्यो नि हेरुँ

उनी आउलिन् दर्प र गर्वले झन् चुलिंदै शिरको ताज बनी
ओठ, आँखामा कति बोकी आउँछिन् जहर त्यो नि हेरुँ

दिलको कुनामा चल्छ आँधी कतै कालो बादलको
आज त झन् अँध्यारो छ दिउसै शहर त्यो नि हेरुँ

साँझ संँधै उराठिलो बिरही मन त्यसै आत्तिई रहने
उनी आउने साँझको छ कि मनमा रहर त्यो नि हेरुँ

उनी आउने ढिलो गरी सँधै तेस्रो प्रहर जून अस्ताउने बेला
वर्षौं बित्यो आज छिट्टै आउँछिन् कि के भर ? त्यो नि हेरुँ

गुज्र्यो जीवन प्यास र तृष्णा मैं नदी छेउको बगर सरी
प्यासी छ कि उनको नजर अनि प्यासै अधर त्यो नि हेरुँ

मेरो चाहको अझै छ कि बाँकी असर त्यो नि हेरुँ
इच्छा छ कि अझै बसाउने एक घर त्यो नि हेरुँ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।