कता हराउँछस् : त्रिलोचन आचार्य (कविता )

कता हराउँछस् : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
१. पर पुगौँ भनेँ थिची रहिस्
कति दिएँ दिएँ घिची रहिस्
सफल भन्न खै डराउँछस्
समय खै कता हराउँछस् ?
२. अक्षरका कुरा गरी गरी
र सुनका गरा चरी चरी
तँ बदमास पो सराउँछस्
समय खै कता हराउँछस् ?
३. तँ दलको बनिस् चुनावमा
तँ बलको परिस् दवावमा
र लुटुँला सरी गराउँछस्
समय खै कता हराउँछस् ?
४. भनिरहिस् सधैँ समान हौँ
र सुख ल्याउँने बिहान हौँ
अब त झन् तँ चर्चराउँछस्
समय खै कता हराउँछस् ?
५. नभ पुगी सक्यो छिमेक ता
प्रगति पो चुम्यो कता कता
तँ त गफै दिई चलाउँछस्
समय खै कता हराउँछस् ?
६. सब युवाहरू विदेशिए
र पथ हीन भै लखेटिए
तँ महँगीतिरै सराउँछस्
समय खै कता हराउँछस् ?
७. पढ भनिस् पढेँ न काम भो
गर भनिस् गरेँ न माम भो
उठ भनी तलै झराउँछस्
समय खै कता हराउँछस् ?
८. तँ भरको हुनै असम्भव
रहरको हुनै असम्भव
कि यतिकै कतै मराउँछस्
समय खै कता हराउँछस् ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।