कपन क्षेत्रमा बक्स कल्भर्ट निर्माण कार्य द्रुत गतिमा , खोला खोल्ने संभावना न्यून ….
कपन अनलाइन
काठमाण्डौ ,असोज ७।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ कपन क्षेत्रमा बक्स कल्भर्ट निर्माण कार्यले तीव्रता पाएको छ। कपन क्षेत्रको डुवान समस्या समाधानका लागि निर्माणाधीन रहेको बक्स कल्भर्ट अहिले आनिगुम्बा क्षेत्रबाट मिलन चोक तर्फ निर्माणाधीन रहेको छ।
वडा नं ११ र १२ को सिमाना आनी गुम्बाबाट निर्माण शुरु भएको बक्स कल्भर्ट अहिले वडा नं १२ को नवदुर्गा क्षेत्रमा आइपुगेको छ भने खोला क्षेत्रका संरचना हटाउने कार्य पनि तीव्र गतिमा अगाडी बढेको छ।
बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ तथा काठमाण्डौ महानगरपालिकाको वडा नं ६ का स्थानीयहरुलाई निकै सास्ती दिएको डुवान समस्या समाधानका लागि पहिलो चरणमा १,४७० मिटर ब्लक कल्भर्ट निर्माण भइरहेको छ ।
२८ करोड ७३ लाख बजेट बिनियोजन गर्दै शुरु भएको काम साततलेमा खोला खोलिए संगै अले आनिगुम्बा देखि मिलन चोक तरकारी बजार सम्म कल्भर्ट निर्माण कार्य के हुने भन्ने विषय निकै चासो र चर्चामा रहेको थियो।
उच्च अदालत पाटनले काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको यज्ञमति र चखुन्चा खोलामा महानगरले डोजर लगाएको विषय उचित आधारबिनाको हस्तक्षेप बताउँदै सो कार्य रोक्न अन्तरिम आदेश दिए संगै ठेकेदार कम्पनीले बक्स निर्माण कार्यलाई निकै द्रुत गतिमा अगाडी बढाएको हो ।
पाटन उच्च अदालतले भाद्र २५ गते दिएको अन्तरिम आदेशमा संघीय प्रयासबाट बक्स कल्भर्ट निर्माण भैरहेको हुँदा महानगरले हस्तक्षेपकारी भूमिका नगरी समन्वयात्मक काम गर्न वाञ्छनीय हुने बताएको छ ।
अन्तरिम आदेशमा मन्त्रालयबाट बजेट विनियोजन भई ठेक्का सम्झौतासमेत भएर बक्सकल्भर्टको काम सुरू भैरहेको बेला कुनै पनि प्रकारको हस्तक्षेप तथा नगर्नु नगराउनु भनी उल्लेख गरिएको छ ।