२६ को आमसभामा लाग्न कोइरालाको निर्देशन

काठमाडौं, जेठ २० । नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले असंवैधानिकरुपमा संविधानसभाको विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयासमा रहेको वर्तमान सरकारका विरुद्ध कडारुपमा उत्रन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महाराजगन्जस्थित आफ्नै निवासमा भएको औपचारिक छलफलमा उपस्थित केन्द्रीय सदस्यहरुसँग यही जेठ २६ गते राजधानीमा हुने बृहत् आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सत्ता बाहिर रहेका अन्य दलहरुसँगको छलफलपछि यही जेठ २६ आयोजना गरिने आमसभामा पार्टीको संयन्त्रलाई समन्वयात्मकरुपमा अगाडि बढाउने बारेमा सभापति कोइरालाबाट आग्रह गरिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

उनले एकीकृत नेकपा (माओवादी)ले जसरी पनि आफ्नै निर्णय लाद्न खोजेको भन्ने कुरा यही जेठ १४ को संविधानसभा विघटन र तत्कालै मङ्सिर ७ गते एकतर्फीरुपमा घोषणा गरिएको संविधानसभाको निर्वाचनबाट पुष्टि भइसकेकाले त्यस्ता चुनौतीको डटेर सामना गर्नुपर्ने छलफलको निष्कर्ष रहेको पनि जानकारी दिए ।     बैठकमा जेठ २६ गतेको आमसभालाई व्यापक बनाउन अन्य दलसँग अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल भएको जनाइएको छ । तत्कालका लागि विश्वासिलो वातावरण नभएकाले आन्दोलनमा जानुको विकल्प नभएकोमा पनि छलफल भएको सदस्य केसीले बताए ।

तपाइँको प्रतिक्रिया ।