राय संकलनका लागि सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिने

काठमाडौँ, १ साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन गर्ने कार्यलाई मध्यनजर गरी सुझाव सङ्कलन कार्य र अत्यावश्यक सेवामा प्रत्यक्षरुपमा संलग्न कर्मचारीबाहेकलाई साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले बाराको कलैयामा बलात्कार भई उपचारका क्रममा निधन भएकी कञ्चनकुमारी ठाकुरका नजिकका हकदारलाई रु छ लाख आर्थिक सहयोग दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो ।

साथै सरकारले बाराकै कलैयामा अपहरण गरी हत्या गरिएका भारतीय नागरिक अशिष साहका नजिकका हकदारलाई पनि रु छ लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा डा कुलबहादुर बस्नेतलाई नियुक्त गर्ने निर्णय गर्नुका साथै नेपाल स्वास्थ्य सेवाको अधिकृतस्तर १२ आँै तहमा डा किरण रेग्मी र डा मधुदेव भट्टराईलाई बढुवा गरेको मन्त्री डा रिजालले बताउनुभयो ।

सरकारले त्रिभुवन र संस्कृत विश्वविद्यालयमा लामो समयसम्म रिक्त दरबन्दीमा करारमा कार्यरत भारतीय शिक्षकमध्ये पाँचदेखि १० वर्षसम्म काम गरेकालाई प्रति वर्षको आधा महिनाको, १० देखि १५ वर्षसम्म कार्यरतलाई प्रतिवर्ष एक महिनाको र १५ वर्षभन्दा बढी काम गरेकालाई प्रतिवर्ष डेढ महिना बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्तसम्म थप गर्नुका साथै राहत तथा पुनःस्थापना एकाइको म्याद २०७२ पुस मसान्तसम्म थप गरेको सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।

बैठकले गरिब घरपरिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्षको पदावधि बढीमा एक वर्षका लागि थप गर्नुका साथै स्वामी डा प्रपन्नाचार्यलाई आजीवन मासिक रु ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।