चाउचाउ तिमी र म : तिलक पोखरेल (कविता )

चाउचाउ तिमी र म : तिलक पोखरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

हामी दुई
एक पोका चाउचाउ
एकघडी जिन्दगी
कति रमाइलो थियो

सपनाहरू
त्यसैमा मुझेर
एकले अर्कालाई
खुवाउँदै
कति रमाउंथ्यौं

पोकाभित्रका
बाङ्गा खुम्रा
ती चाउचाउका
जीउ गनेर दिन बिताउंदा
कति खुसि हुन्थ्यौं

सकिन लागेको
पोकाभित्रको शेष चाउचाउ
लुटीलुटी स्वाद लिएर
खाने थियौं र मज्जाले हांस्थ्यौं
लाग्थ्यो
यो जिन्दगी चाउचाउ जस्तै हो

कतै उसिनिन्छौं हामी
कतै पोलिन्थ्यौं
कतै झरामझुरूम परेर
चट्पटेमा पुग्थ्यौं हामी
कतै एक्स्पायर भएझै कुनामा

आज त्यो चाउचाउ
हामीमाझ छैन
तिमीसंग छ
मसंग पनि छ
तर हामीसंग छैन

लाग्छ चाउचाउ
समय जस्तै हो
तिम्रो अलग
मेरो अलग
तिम्रो एक ब्रेन्डको
मेरो अर्कै ब्रेन्डरो

तिमी भोकाएकी छौ
म पनि भोकाएको छु
दुवैको हातमा
चाउचाउ रहेर पनि
त्यो चाउचाउ अनाथ भएको छ
टुहुरो भएको छ
सबैथोक भएर पनि
केही नभएको जस्तो
खुम्चिएर बसेको छ

जिन्दगी चाउचाउ जस्तो
समय चाउचाउ जस्तो

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।