कपन चखुँन्चाको बाढी ,काठमाण्डौ महानगर-बुढानिलकण्ठ बिबाद र समाधान

कपन चखुँन्चाको बाढी ,काठमाण्डौ महानगर-बुढानिलकण्ठ बिबाद र समाधान
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३ /शम्भु पौडेल
पृष्ठभुमी:
साविक कपन गाविसका बीभिन्न वडाहरू हालको बुढानिलकण्ठ नगरपालीका वडा न १०,११,१२ र तत्कालिन बौद्ध गाँउ पन्चायत भित्रका केही बस्तिहरु सरस्वतीनगर, रामहिटी, सिमलटार आदि काठमाण्डौ  महानगर वडा न ६ र तत्कालिन भगवानस्थान गाँउ पन्चायतको गोपिकृष्ण नगरको भाग हाल काठमाण्डौ महानगर वडा न ७ को राजनीतिक र प्रशासनिक क्षेत्रमा पर्दछन ।
नाङगो आँखाले हेर्दा गोकर्णेश्वर नगरपालिकाको आरुबारीलाइ सिमाङ्कन गरी महानगर ६ को सिमलटार देखी कपन गुम्बा सहित बेखफाँट, राम मन्दिर , बालुवाखानी ,आकासेधारा,रामहिटी ,सरस्वतीनगर, साततले गोपिकृष्ण सिनेमाहल सम्म एकै प्रकारको भू बनोट देखिन्छ । प्रसासनिक र राजनीतिक नक्सामा यी ठाउँहरु काठमाडौ महानगर र बुढानिलकण्ठ नगरपालीकाको विभिन्न वडामा बिभाजित छ्न ।
एउटै पानीढलोको रुपमा जोडिएर एक आपसमा मितेरी लगाएका यी ठाउँहरु अत्यन्तै नजिकका चखुँन्चा र यज्ञमति आसपासका बस्तिहरु हुन। बुढानिलकण्ठका वडा नं १०,११,१२ र काठमाण्डौ महानगर वडा न ६ र ७ जोडिएको कपन र माहाकाल फाँट क्षेत्र जसलाई सिमा छुट्याउँदै बिचमा रहेको चखुँन्चा खहरे हिजोआज देश तथा बिदेशमा सामाजिक सन्जाल लगायत राष्टिय मिडियामा चर्चित  छ ।
परापुर्व कालदेखी काठमाण्डौको काठ क्षेत्रको रुपमा परिचित हालको कपन आनि गुम्बा , कपन गुम्बा निर्माण भए देखी काठमाण्डौको एक रमणीय पर्यटक स्थलको रुपमा चिनिन्छ ।
काठमाडौं महानगरपालिकाको वडा नं  ४,६ र ७ संग सिमाना जोडिएको कपनको माथिल्लो भागमा तत्कालीन अवस्थामा पुराना बस्तिहरू रहेको र तल्लो भागको समथर भू-भाग खास गरी साविक कपन वडा न १,२ ,३ र ८ का समथर फाँटहरु बेख,आकासेधारा ,कपनटार ,मटवाहाल,बालुवाखानी फैका,र खरिबोट ,पैयाटार सँगै कामपा वडा न ६ र ७ का गोपि कृष्णहल देखी सरस्वती नगर (मंहाकाल फाँट) रामहिटी आसपासका समथर मलिलो भू-भाग खेतीपाती हुने उर्बर क्षेत्रको रुपमा रहेको थियो ।
२०४६ सालको राजनैतिक परिवर्तन संगसगै बाहिरी जिल्लाहरूबाट मानिसहरू बसाँई सराई गरी आउँने क्रम बिस्तारै बढ्दै गयो । विशेष  गरी २०५२ सालबाट माओवादी द्वन्द सुरुभएपछी उपत्यका बाहिरबाट बिस्थापित भएर कपन क्षेत्रमा आउनेको संख्या झनै तिब्र रुपमा वृद्धि  भयो । समयको क्रमसंगै स-साना टुक्रा जग्गा खरिदगरी बसोबास गर्ने क्रम बिस्तारै बढ्यो । कपन र कपन संग जोडिएका र काठमाण्डौ महानगरका बस्ती घना हुने क्रममा यहाँको जल जमिन र प्राकृतिक श्रोतले मानवीय आवस्यकता पुरागर्न गाह्रो हुँदै थियो । यहाँको दुइवटा खहरे मध्य एक यज्ञमति जुन गोकर्णेश्वरको सिमाले छोएको जगडोलको दक्षीण तर्फको केही भागको पानीढलो भई साविक कपन हाल बुढानिलकण्ठ न.पा. वडा नं  ११, १२, १० हुँदै महानगरको वडा न ६ सिमा रहेको आरम्भ चोकमा आएर मिसिएको छ।
जगडोलको केही भाग सहित गोकर्णेश्वरको वडा नं  ९ को उत्तर पश्चिम सिमा तर्फको आरुवारीको केही भागको समेत पानीढलो महानगर ६ को सिमलटार,लाखेपोखरी फैकाचोक हुँदै काठमाण्डौ महानगर पालीकाको वडा न ६ र बु न पा १० र १२ को सिमा आरम्भ चोकमा आएर चखुँन्चा यज्ञमतीमा मिसिएको छ । दुबै खहरे मिसिएर आरम्भ चोकबाट मिलनचोक हुँदै साततलेमा आएपछी महानगर वडा नं  ७ लाई छोएर काठमाण्डौ महानगर र बुढानिलकण्ठ नगरपालिकालाई छुट्याएर सिमा कायम गरि बहने चखुँन्चा खहरे र यसमा बर्खामा बहने बाढीनै हाललाई यो क्षेत्रको मुल समस्या हो ।
चखुँन्चा र यज्ञमती वरीपरी बस्तीहरू बिस्तार हुदै गर्दा दुबै खोल्सीहरुको स्थायी  मुहान(मुल) नभएको र पुराना स- साना मुल सिमसार क्षेत्र धेरै पहिलानै सुख्खा भइ सकेकाले चखुँन्चा र यज्ञमती दिन दिनै प्रदुषित हुँदै थिए । प्रदुषीत यज्ञमती र चखुँन्चामा बर्खामा बाढी र हिउँदमा ढल बग्न थाल्यो त्यो नै यस क्षेत्रको समस्याको रुपमा देखियो ।
ह्युम पाईप राख्नु भन्दा अगाडिको अवस्था कस्तो थियो ?
यज्ञमती तिर २०५६/५७ सम्म हालको दुरसंचारको कार्यलय सम्म हिउँदमा लगभग दुई इन्चको पाईपमा खादिएर अटने जतिको फोहोर पानी बग्ने गर्थ्यो । दुबै तिर बाट छोडिएको पानी बग्ने भू-भाग सहित अन्दाजी १२/१४ फिट जतिको खहरेमा बर्खाको बेला बाढी आउँने गर्थ्यो । चखुँन्चा अझै सानो खहरे खोल्सी भएकोले त्यहाँ पानी हैन ढल मात्रै बग्ने गर्थ्यो । स्थानीयहरुले ति खोल्सीमा आउने बर्खाको बाढीबाट आफ्ना घर जोगाउन आ-आफै मिलेर कतै ढुङ्गाको पर्खाल त कतै सिमेन्टका खाली बोरामा माटो भरेर चाङ लगाई बाँसको किला र भाटाले छेकेर तटबन्ध गरेका थिए ।
बस्ती बिस्तार हुँदै गर्दा खहरेको बाढीबाट बस्ती जोगाउने क्रममा खहरेको एक किनाराबाट लगभग १०/१२ फिटको बाटो समेत राखी तटबन्ध बनाउने क्रम चली रहेको थियो । हालको धोबिखोला किनारा देखी मिलनचोक सम्म महानगर तिरको किनाराबाट बाटो थियो भने मिलनचोक बाट कपन चौकीहुँदै हालको आदर्शनगर चोकसम्म बुढानिलकण्ठ वडा न १० तर्फबाट एकतर्फी बाटो थियो ।
आदर्शनगर चोकबाट जोरधारा आगाडी सम्म बुनपा वडा नं  १२ तर्फबाट बाटो कायम गरीएको थियो । त्यहाँभन्दा माथी बस्ती बस्दै गर्दा दुबैतर्फबाट खहरेको भाग छोडी आवतजावत गर्ने गरीएको थियो। खहरे वारीपारी रहेका घरमा जानको लागी कतै काठ ,बाँसको र कतै कतै सिमेन्ट ढलानका अस्थायी पुलहरु पनि देखिन्थे ।
चखुँन्चा तिर बुनपा १२ र माहानगर ६ को सिमा हुदै हालको ढूङ्यानको तल्लो भाग आरम्भचोक सम्म ढलमात्रै बग्ने साघुरो खोल्सी थियो । त्यो भागमा बुनपा वडानं  १२ तर्फ मात्रै गोरेटो बाटो कायम थियो।
तेन्जिङचोक भन्दा माथी फैकाचोक सम्म बुनपा वडा नं  १२ तर्फको किनारामा बाटो थियो । महानगर ६ तर्फ सिमामा फैकाचोक हुदै बग्ने सानो कुलो जस्तो चखुँन्चा खहरे थियो र त्यो भन्दा पछाडी बस्ती बसिसकेको थियो।
यो परिदृश्य २०५६/५७ तिर सम्मको हो । यसरी दुईवटै खहरेको बर्खामा आउने बाढीबाट बच्न स्थानिय बासीहरुले बाँसले बारेर बोरामा माटो राखेर र कतै ढुङाको पर्खाल लगाएर बर्खामा मात्रै आउने पानी नियन्त्रण क्रम त्यस अघि देखिनै जारी थियो । धोबिखोला देखि हालको टेलीकमको अफिस आसपास सम्म र आरम्भचोक देखी माथी चखुँन्चा तिर पनी स्थानीय जनताकै खर्चबाट कतै बाँसले बारेर बोरामा माटो राखेर र कतै ढुङाको पर्खाल लगाएर बर्खामा मात्रै आउने पानी नियन्त्रण गरि आसपासका बासिन्दाहरु बसोबास गर्दै आएका थिए ।
खहरेमा ढ्ल राख्नुको कारण :
२०५७ /०५८ साल पछि हिउँदमा खहरे धेरैनै गन्हाउने हुँदा मानव स्वास्थमा गंभिर असर गर्ने र खोल्सीमा बर्खामा आउने बाढीले आसपासका वस्ती र मानवलाई जोखीम बढ्दै गएको र बढदो प्रदुषणले हुने मानव स्वास्थ्यलाई पर्ने असरलाई ख्याल सो नियन्त्रण गर्नका लागी साततले देखीनै उपभोक्ता समिती बनाएर दुबै तिरका बासिन्दाको सहकार्यमा आफ्नै खर्चबाट र कतै कतै राज्यको थोरै सहयोगमा उपभोक्ता समिती मार्फत ह्युम पाईप राख्न सुरू गरीएको थियो ।
यसरी उपभोक्ता समितीहरु गठन गरी दुबै तर्फका स्थानीयहरुको नेतृत्व र सहकार्यमा काम सम्पन्न गर्दै गएका थिए ।स्थानीयबासी हरुले टुक्रा टुक्रामा बिभाजन गरी आ-आफै मिलेर यज्ञमती तर्फ आनिगुम्बा भन्दा माथी खहरेमा ह्युम पाईप राख्ने काम भयो । चखुँचा तर्फ पनि बुनपा. वडा न १२ र महानगरको वडा न ६ को सिमानामा हालको फैकाचोक सम्म एक एक वटा ह्युम पाइप राखेर दुर्गन्ध छोप्ने क्रममा दुबै खोल्सीहरू आपसी सहमतीमा व्यवस्थित गरीएको थियो । पछी फेरी समस्या आएकोले ठाउँ ठाउँमा ४८ ईन्चको दुईवटा ह्युम पाइप राखी पुन बाढीको समस्या समाधान गरीएको थियो।खहरेमा दुईवटा ढल राखेपछी २/४ बर्ष खोल्सी व्यवस्थित हुँदा तत्कालिन अवस्थामा स्थानीय समस्या समाधान भएको थियो ।
२०७५/७६ मा धोबी खोला करिडोर बन्नेक्रममा ढल सिधै खोलामा नमिसाउने बागमती सभ्यता कोषको अवधारणा अनुसार धोबी खोलाको पुर्बी किनारबाट ढल निकासको पाइप राखेर चखुँन्चाको ढल धोबीखोलाको करिडोरको ढलमा जोडिएको थियो । त्यस अघि धोबीखोलामा सिधै गई रहेको पानीलाई करिडोरमा राखिएको ढलको पाइपतिर डाइभर्ट गर्दा बर्खाको समयमा बेगले बगेको पानीको बाटो अवरोध भई क्रमस पानी जमेर पाईपबाट माथितिरै फर्कदा हालको बाढीको समस्या बढदै गयो। आजभन्दा दुई बर्ष अगाडी पाथीभरा बस्तिको एक किशोरको तेहि ढलमा परेर दु:खद निधन भयो । उनको मृत शरीर सायद धोबिखोला करिडोरमा चखुँन्चा संग जोडिएको ढल हुँदै बगेकोले होला मकवानपुर जिल्लाको बागमती गापामा धेरै दिन पछि मात्रै भेटिएको थियो ।
पछि के कस्ता प्रयासहरु भए ?
समस्या बढ्दै गएपछी तत्कालिन बुढानिलकण्ठ नगरपालिका स्थानिय जनप्रतिनिधिको आग्रहमा तत्कालीन प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डा. राजन भट्टराई मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बिनियोजन गरि उपत्यका बिकास प्राधिकरणको योजनामा क्रमस तीन चरणको योजनाबाट प्राबिधिकले बक्स कल्भर्टको डि पि आर तयार गरि आनिगुम्बा माथी तिरको योजना सम्पन्न भइ सकेको छ ।
आरम्भ चोकवाट माथितिरको चखुँन्चा तर्फको काम सप्पन्न भइ सकेको र दोश्रो चरणको काम दुर्गामन्दिर र दुर सन्चार कार्यलय आसपास हुँदै गरेको छ । ठेक्का लागेको काममा ठेकेदारले ढिलाई गर्दा स्थानीयलाई अझै मर्का परेको भन्दै ठेकेदारलाई दबाब दिई छिटो काम सप्पन्न गराउनका लागि बुढानिलकण्ठका प्रमुख मिठाराम अधिकारी सहित बु न पा १०,११,१२ का वडा अध्यक्ष सरोकारवालाहरु सहित पटक पटक उपत्यका बिकास प्राधिकरणमा डेलीगेसन गएको कुरा वडा न १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले बताए । मिलन चोक देखि तल तिरको तेश्रो चरणको योजनाको लागि २८/२९ करोड बराबरको ठेक्का लागी सकेको छ । अर्कोतर्फ यसै खण्ड्मा बागमती प्रदेशको प्रदेश पुर्वाधार कार्यलय ललितपुरको ३६ करोडको अर्को योजना पनि ठेक्का लागि सकेको छ । यद्दपी स्थानियहरुको बिचमा सहमती नभएकोले केही बिबादहरू यथावत थिए।
पछिल्लो बिवाद्को कारण के हो?
बुढानिलकण्ठ  र काठमाडौ माहानगरको सिमा क्षेत्रको बिचमा रहेको चखुँन्चा खहरेको बाढी दुई स्थानीय तहको सिमा बिवाद र यसको समाधान गर्नको लागी चखुँन्चा खहरेबाट प्रत्यक्ष पिडित सरोकारवालाहरु बिच उपत्यका बिकास प्राधिकरणको योजना अनुसार चल्ने कि अर्को बिकल्पमा जाने भन्ने बिवाद हुदै आएको थियो ।
बिगत केही बर्ष देखि सरस्वतीनगर तर्फका स्थानीयबाट खोला खुल्ला गर्नुपर्ने अवाज बुलन्द भइ रहेको थियो । बुढानिलकण्ठ  तर्फका बासिन्दाहरुको मत भने उपत्यका बिकास प्राधिकरणले सबै प्रकारका प्राबिधिक परिक्षण गरि सुरु चालु योजना लाईनै निरन्तरता दिई अगाडी बढदानै दीर्घकालीन रुपमा बाढीको समस्या समाधान हुन्छ भन्ने थियो ।
सो बिवाद समाधान गर्न दुबै स्थानीय सरकारका प्रमुख , काठमाडौ उपत्यका बिकास प्राधिकरणका निर्देशक , बुढानिलकण्ठ  वडा अध्यक्ष सहित समन्धित चारैवटा वडाका वडा अध्यक्षहरु र नापी कार्यलय चावहिलका प्रमुख सहित पटक पटक छलफल हुँदै आएको थियो ।
नापी कार्यलय चावहिल संग समन्वय गरि सिमाना छुट्याउनका लागि दुबै तर्फबाट बाट पत्राचार गरि महानगर ७ र बु न पा १० को सिमाना छुट्याएर पर्खाल लागी सकेको र त्यो भन्दा माथी बुनपा वडा न १० /१२ र नगर ६ को सिमाना छुट्याएर बाँकी काम गर्नका सिमाना जोडिएका चारैजना वडा अध्यक्षहरुको बैठक पटक पटक बसेको थियो ।
पछिल्लो पटक का.म.पा. वडा न ७ को वडा कार्यलयमा बैठक बसेको र सो को जानकारी दुबै तर्फका नगर प्रमुखहरुलाई थियो। संयुक्त बैठकले बाढीको समाधानको लागि उचित बिकल्प छ्नोट गरेर अगाडि बढ्नको लागी लगातारको प्रयास भइरहेको थियो । त्यसैको संकेत स्वरुप खहरेखोला खोजेर मात्रै समस्याको समाधान संभव छ भन्ने आसयका साथ बुनपा १० वडा अध्यक्ष नवराज भट्टराईले साउन २४ गते साँझ फेसबुक मार्फत एउटा स्टाटस पोस्ट गरेका थिए । उनले भनेका थिए ..
” Balen मेयर साब ! ! !
धोबिखोला देखि मिलनचोक सम्म अहिले ह्युम्पाइप हालेको क्षेत्र मात्र पुरानो खोला हैन महानगर ७ र ६ बाट ४ मिटर बाटो छोडिएको भनिएको क्षेत्र पनि खोला हो, बाटो लाइ छोडिएको जग्गा ब्यक्तिको हैन खोला उकास जग्गा हो भन्ने छ यकिन गरौ । अतिक्रमित संरचना , खोला, सार्वजनिक जग्गा खोजि गरौ, डुबानको निकाश दिऔ । “
नापजाँच गरि सिमाना छुट्याइएर खोला खोज्ने त्यस पछी ह्युम पाईप झिक्ने र चालू योजना अनुसार अगाडि बढने उनको भनाइको आसय थियो।
यद्दपी बर्खाको कारण र महानगरले नापी कार्यलय चावहिललाई पत्राचार गर्न ढिलाई गरेको र ढल झिक्दा आवत जावत गर्न अप्ठ्यारो हुने र अरु जटिलता आउने भएकोले बर्खा सकिएपछि मात्रै खोला खोजेर निकास दिने त्यतीनै बेला खहरेमा राखीएको ह्युम पाईप झिकेर चालु रहेको उपत्यका बिकास प्राधिकरणको योजनालाइ मुर्तरुप दिनका लागी केही महिना पर्खने सोच हुँदा केही ढिला भएको थियो ।
किन बुढानिलकण्ठका जनप्रतिनिधि र माहानगरबिच बिबाद बढयो ? 
मध्य बर्खाको बेलामा बाढिले दुबै नगरका बासिन्दाहरुलाइ दुख दिई रहेको थियो ।पानी परेको बेला बिध्यालय जाने आउने स -सना बालबालिका लगायत बटुवाहरु घण्टौ रोकिन बाध्य थिए। खहरे किनाराका व्यापारी हरुका सामान बाढीले बगाउने गर्थ्यो। दर्जनौ पटक मोटर साइकल स्कुटी चालहरु बाढी आएको खहरे पार गर्दा लडेर घाइते भएका र मोटर साइकल स्कुटीहरु समेत बगाएको थियो।अन्य सवारी साधनहरु पनि बाढीको कारणले बिचल्लीमा पर्थे ।
विभिन्न मिडिया र सामाजिक संजालमा कपनको बाढी भाईरल बनाइन्थ्यो । स्थानियहरु पीडित तथा आक्रोसित थिए यसले गर्दा जनप्रतिनिधिहरुलाइ व्यापक जन दबाब थियो । बाढी नियन्त्रण गर्ने र बढ्दो बाढीको समस्यालाई दिगो रुपमा समझदारीका साथ सामाधान गर्नका लागी दुबै स्थानिय सरकारको बरावरी दाईत्व भएकोले कानुनी र व्यवहारिक बाध्यतालाई ख्याल गरेर गत साउन २६ गते दिनको १ बजे बुनपा वडा नं १० स्थित मिलनचोक पार्टी भेन्युमा संघिय र प्रदेशका माननियहरु सहित दुबै स्थानीय सरकारका प्रमुख र समन्धित वडाका वडा अध्यक्षहरु र सरोकारवालाहरु विचमा छलफल गरि उपर्युक्त बिकल्पमा जानका लागी भेला आयोजना गरीएको सूचना बुढानिलकण्ठ  नगर प्रमुख मिठाराम अधिकारीले सम्बन्धित  सरोकारवालाहरुमा केही दिन अगाडिनै दिएका थिए ।
त्यो छलफल हुनुभन्दा एक दिन अगाडिनै आकस्मिक रूपमा ठुलो संख्याका दल बल र दर्जनौ मिडिया सहित महानगरका नगर प्रमुख बालेन्द्र शाहको ठाडो आदेशमा नगर प्रहरी सहित डोजर लिएर काठमाण्डौ महानगरीय प्रहरी प्रमुख राजु पाण्डे जबर्जस्त शैलीमा देखा परे ।
सिमा जोडिएको ठाउँमा समान अधिकार भएको अर्को स्थानीय सरकार र त्यहाँका जनप्रतिधी र स्थानीय बासीलाई कुनै खबर नगरी, बिना योजना एकलौटी हिसाबले माहानगरले साततले करिडोरमा बल पुर्वक खोला खोतल्न आउँदा बुनपाका नगर प्रमुख , उप प्रमुख का साथै जनप्रतिनिधिहरु र बुढानिलकण्ठ तर्फका स्थानीयहरुले माहानगरको त्यो अराजक शैलीको शसक्त रुपमा बिरोध गरे ।
 वडा नं १०  अध्यक्ष नवराज भट्टराई र अन्य जन प्रतिनिधि माथी माहानगरका नगर प्रहरीबाट हातपात गरि दुर्वव्यवहार समेत भएपछि स्थित अलि जटिल बन्यो । काठ्माण्डौ महानगरले बुढानिलकण्ठ नगरपालीका जन प्रतिनिधि माथी गरेको जबरजस्ती सबैतिरबाट बिरोध ,भर्सना र प्रतिकार भए पछि महानगर आफ्नो जबरजस्ती रोक्न बाध्य भयो ।
बुढानिलकण्ठ नगरपालीका संग समन्वय नगरी महानगरले नगर प्रहरीको बलमा दुबै स्थानीय तहको सिमाको रुपमा खहरे खोतल्न जाँदा दुबै तर्फका स्थानिय जनताको बिचमा भ्रम सृजना गरि एक आपसमा भिडन्तको बातावरण सृजना भयो ।
त्यो अत्यन्तै सामाजिक सद्भाव बिगार्ने गलत कार्य थियो । समान अधिकार भएको सिमाना जोडिएको अर्को स्थानीय सरकारलाइ पेल्ने महानगरका प्रमुखको ठाडो आदेश उनको नगर प्रहरीको असमान्य व्यवहार बुढानिलकण्ठ नगरपालीका तर्फका स्थानीय र जन प्रतिनिधिलाई गरिएको अपमान थियो। स्थानीय बासीहरुलाइ बिभाजन गरेर सामाजिक बिद्वेष फैलने खालको त्यो जबर्जस्ती अत्यन्तै खेद जनक थियो ।
आखिर समस्या त छदै छ ,जनताको जिम्मेवार जन प्रतिनिधि हुनुको नाताले बिग्रन लागेको स्थानीय जनताको सद्भावलाई भड्किन नदिइ २५ गते दिउँसो देखिनै बुढानिलकण्ठ नगरपालीकाका प्रमुख सहित वडा न १० र १२ का वडा अध्यक्षहरु र माहानगरपालीका वडा न ६ र ७ का वडा अध्यक्षहरुले विशेष सक्रियता देखाइ साउन २६ गते अपरान्ह सुझबुझका साथ ३ बुँदे सहमति गरे ।
तत्कालीन अवस्थामा बिग्रन लागेको सद्भाव र समस्या समाधान गर्नका लागि त्यो सहमति एक कोशेढुङगा थियो । सहमतिलाई पुर्णत कार्यान्यन गरि उपत्यका बिकास प्राधिकरणको चालू योजना समेतलाई दृष्टिगत गरी चखुन्चा वारीपारी बस्ने बुनपाबासी र काठमाण्डौ महानगरबासीको यो समस्या दिगो रुपमा समाधान हुनेगरि दुबै तर्फका जन प्रतिनिधिहरु अगाडि बढनुको बिकल्प दुबै स्थानिय सरकारलाई थिएन र छैन । आगामी दिनमा काठमाण्डौ  महानगरले एकलौटी हैन सहमती अनुसार समस्या समाधान गर्नतर्फ ध्यान केन्द्रित गर्नु आबस्यक देखिन्छ ।
नगर प्रमुख र वडा अध्यक्षमाथी लगाईएको आरोपको वास्तविकता के हो?
कपनमै पुर्ख्यौली घर भएका बुढानिलकण्ठका नगरप्रमुख मिठाराम अधिकारी हाल बुढानिलकण्ठ वडा न १० का स्थायी  बासिन्दा हुन । आकासेधारामा स्थित उनको घर कपनको खहरे खोल्ने क्रममा मिडियाहरुमा उनले खहरे मिचेर घर बनाइको भन्ने आरोप लगाएको छ । यसको वास्तविकता बारेमा जान्न खोज्दा नगर प्रमुख अधिकारी भन्छ्न ” म अहिले बसेको घर तत्कालिन कपन गाविसको मापदण्ड पुरा गरी घर निर्माण गरेको छु । म राजनैतिक व्यक्ती भएकोले केही मान्छेहरू बिगत देखिनै मेरो अनावस्यक बिरोध गरेर आफ्नो  रोटी सेकाउने खेतिमा थिए ।
कानुन र मापदण्ड बिपरित कुनै संरचना  बनेको छ भने बुढानिलकण्ठ नगरपालिकाले  त्यस्को संरक्षण गर्दैन र मेरो या सवैको सवालमा एउटै नियम लागु हुन्छ । हामी कानुनी राज्यको पक्षमा छौ।प्रमाण नपुर्याई अरुलाई आरोप लगाउनु सामाजिक रुपमा अपराध हो भने,कानुनी रुपमा दण्डनिय पनी हो। त्यस्ता झुट कपोकल्पित र भ्रामक आरोप लगाएर राजनिनिति रोटी नसेकाउन म सबैलाई आग्रह गर्दछु।” नगर प्रमुख अधिकारीको भनाइ छ ।
यस्तै आरोप वडा न १० का वडा अध्यक्ष नवराज भट्टराई पनी लगाइको छ । उनको घर खहरे खोलामाथी छ भन्दै बिभिन्न प्रायोजित मिडिया प्रयोग गरेर उनलाई भु- माफियाको आरोप लगाईएको छ । यस बारेमा वडा अध्यक्ष नवराज भट्टराई भन्छन “म वास्तविक बाढी पिडित हूुँ। यज्ञमती खहरेको किनारामा रहेको मेरो घर म सानै हुँदा मेरो बुबाले सिन्धुपाल्चोकको पुर्ख्यौली खेत बेचेर सानो जग्गा किनेर दुख गरेर २०६०/६१मा तत्कालिन कपन गा.बि.स. को मापदण्ड पुरा गरेर नक्सापास गरी बनाएको हो । त्यति  बेला खहरेको किनाराबाट १.३ मिटर छोडने मापदण्ड भएपनि मेरो घर देखी खहरे तर्फ छोडिएको जग्गा १० /११ फिट (३.४० मिटर ) भन्दा बढि छ । यदी कुनैपनी निकायले छानविन गर्दा मेरो घर मापदण्ड बिपरीत ठहर भएमा कानुननै सम्सोधन गरेर मलाई मृत्युदण्ड दिईयोस म खुसिका साथ मृत्यु स्विकार्न तयार छु। कोही संग रिस उठ्यो भन्दैमा अनावश्यक आरोप लगाएर मान मर्दन गर्नेहरूलाई म खुल्ला चुनौती दिन्छु प्रमाण पु्र्याएर मेरो घर भत्काउ मलाई मन्जुर छ। भू-माफियाको अर्थ के हो? भन्दै प्रतीप्रश्न गर्दै उनी भन्छ्न , जसले नियम बिपरित जग्गा प्लटिङ गरी कालोधन थुपारेका छन उनिहरूले मलाई भुू-माफियाको आरोप लगाउनु कतिको जायज हो ?”। वडा अध्यक्ष भट्टराईको भनाइ छ ।
नेपाली काङ्ग्रेस र गगन थापा किन मौन छ्न ?
२०६४ साल देखि काठमाडौ क्षेत्र न ४ मा लगातार चार पटक चुनाब जितेको नेपाली काङ्ग्रेस र माननिय गगन थापा एक पटक समानुपातिक र ३ पटक प्रत्यक्ष चुनाव जितेर राष्टिय राजनितिमा उदाएका नेता हुन ।
गत मंसिरको चुनावमा पनी प्रधानमन्त्री बन्ने एजेन्डा ल्याएर मत आफ्नो पोल्टामा पारेर बिजयी भएका थिए। उनि सत्तारुढ पार्टी देशकै ठुलो दल नेपाली काङ्ग्रेसका शक्तिशाली माहामन्त्री तथा मन्त्री भइ सकेका जल्दाबल्दा साम्सद हुन । हरेक निर्वाचनमा खहरे समस्या उनको चुनावी मुद्दा हुने गर्थ्यो । चुनाव जितिसकेपछी फेरि अर्को चुनाव सम्म खहरे समस्यामा  उनी चुप रहन्थे। गत चुनाबको सन्निकट उनले एउटा पत्रकार सम्मेलनमा “धोबिखोला कोरिडोर कपन बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना “समेत गठन गरेको भनेर प्रचार गरेका थिए । हालसम्म त्यो आयोजना कहाँ छ ? के गर्दैछ ? अत्तोपत्तो छैन । मतदाताले उनलाई प्रश्न गरिरहेका छ्न । खहरे समस्या समन्धी उनले चुनावको बेला बोलेका भिडियो हरु उनका कार्यकर्ताले सामाजिक सन्जालमा प्रचार गरि रहदा आफ्नै क्षेत्रमा यती ठुलो घटना हुँदा गगन थापा र बु न पा १० निवासी काङ्ग्रेसको समानुपातिक बाट प्रदेश सभामा निर्वाचित साम्सद मिना पराजुली उनको दल नेपाली काङग्रेस बुढानिलकण्ठको नेतृत्व मौन हुनु रहस्यमय छ । जनता नेपाली काङ्ग्रेसको आधीकारीक धारणाको पर्खाइमा छ्न ।
कता छ्न प्रदेश सांसद  जयराम थापा र बुनपा एमाले  किन चुप छ  ?
नेकपा एमाले बाट निर्वाचित बुढानिलकण्ठ नगरपालीकाका नगर प्रमुख , उप प्रमुख सहित वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुले फिल्डमा नै आएर महानगरको जबरजस्तीको बिरोध गरे । काठमाण्डौ महानगर संग सहमति गरेर भावी योजना सहित अगाडी जाने प्रस्ताव राख्दा वडा नं  १० का वडा अध्यक्ष नवराज भट्टराई लगायत जनप्रतिनिधिहरुले महानगरीय प्रहरीको दुरव्यवहारनै भोग्नु पर्यो । यसै ठाउँ बाट प्रदेश सभामा एमाले बाट प्रत्यक्ष निर्वाचित  जयराम थापाले हाल सम्म यो विषयमा सार्वजनिक रुपमा मुख खोलेका छैनन । बुनपा बस्ने केही जिल्ला स्तरिय नेता सहित वडा स्तरिय नेताहरुले फाट्टफुट्ट सामाजिक संजालमा लेख्ने बाहेक एमाले बुढानिलकण्ठ कमिटीले हाल सम्म यो विषयमा कुनै आधिकारीक भनाई किन  बाहिर ल्याएको छैन? जनताको नजर त्यतातिर पनि छ ।
यसपछी देखिने परीदृश्यहरु
हाल महानगरको डोजरले क्रमिक रुपमा साततले चोकबाट खहरे खोलामा राखीएको ढल निकाल्दै गर्दा धोबिखोला देखी मिलनचोक सम्म महानगर तिरको किनाराबाट बाटो देखिन्छ ।
बुढानिलकण्ठ वडा न १० तिरका केही घरहरु खहरे संगै टासिएको देखिँदा बिभिन्न मिडिया,युट्युब र सामाजिक संजालमा बुढानिलकण्ठ बासीहरुलाइ चर्को स्वरमा गाली गरिरहेका भेटिन्छ्न । यहाँ बुझ्नुपर्ने कुरा के हो भने २०७१ साल सम्म कपन गाविस. थियो । २०५४ को स्थानीय निर्वाचन अगाडि सम्म आफुखुसी घर बनाउने चलनलाई परिवर्तन गरि गाविसले घर बनाउन सामान्य सिफारिस दिने प्रक्रिया सुरुवात भएको थियो । तेतिबेला घर बनाउनका लागि बाटोबाट एक मिटर अर्थात तीन फिट जति जग्गा छोडेर नक्सापास हुन्थ्यो ।
खहरे खोलाको ४ मिटरको मापदण्ड उपत्यका बिकास प्राधिकरणले २०६४ मा मात्रै नयाँ नियम ल्याएपछी मात्रै लागु भएको थियो । तर कपन क्षेत्रमा २०६१/ ०६२ तिरै नयाँ नापी भएकोले नापी हुँदा सिमानामा रहेको खहरे त्यस अघिनै ह्युमपाइप हालेर बाटोको रूपमा देखिएकोले नयाँ नापीको नक्सामा बाटोको रुपमा कायम भएको थियो। गाविसको नियम अनुसार बाटोको छेउबाट ३ फिट मात्रै छोडेर धेरै घरहरु निर्माण भए । यद्यपि तेतिबेला स्थानीय जन प्रतिनिधिहरुको कार्य अवधी २०५९ मै सकिएकोले गाविस.पुर्णत कर्मचारीहरु बाट मात्रै संचालित थियो । त्यसैले साततले देखी मिलनचोक सम्मका केही घर तेतिबेलाको मापदण्ड ३ फिट मात्रै छोडेर बनाएकोले हाल खहरेको सिमामै बनेका देखिन्छन । मिलनचोक भन्दा माथि चखुँन्चा तर्फ जादा बु न पा १० र,१२ र माहानगर ६ को सिमा हुदै ढूङ्यान ,तेन्जिङ चोक हुदै फैकाचोक अगाडि सम्म पुग्दा बु न पा १० र १२ तर्फ साविकमा बाटो रहेकोले महानगर वडा न ६ तर्फका धेरै सम्रचना हरुपनि पुरानै मापदण्ड अनुसार घर टहरा निर्माण गरेकोले त्यस क्षेत्रमा झनै ठूलो असर पर्ने देखिन्छ ।
चखुँन्चा तर्फ हालको आरम्भचोक सम्म बक्स कलभर्ट मुनिबाट खोला बगेको हुनाले महानगरको खोलालाइ आकाश देखाउने नीति अनुरुप ति संरचना  भत्कन्छ या भत्कदैन समयले महानगर प्रमुख बालेन्द्र शाहको नीति र व्यबहारको मुल्यांकन गर्नेछ ।यहाँनेर महानगर प्रमुखको अग्निपरिक्षा समेत हुनेछ । यता यज्ञमती तर्फ बुढानिलकण्ठ का १०/१२ /११ मा उपत्यका बिकास प्राधिकरणको योजनामा ठेक्का लागि बक्स कल्भर्ट निर्माणकार्य हुँदै गरेकोले यसलाई के गर्ने भन्ने अधिकार उपत्यका बिकास प्राधिकरण र बुढानिलकण्ठ नगरपालीकाको निर्णयमा भर पर्नुपर्नेछ ।
के भन्छ्न प्रत्यक्ष पिडित स्थानीयहरु ?
दर्जनौं मिडिया र दल बल सहित बराबर अधिकार भएको स्थानीय सरकारलाई बेवास्ता गरी मध्य बर्खामा हुने जोखिमलाई समेत ख्याल नगरी एक्कासी खहरेखोला खोतल्न आएको महानगरको जम्बो टोलीको ज्यादतीलाई रोकेर उसलाई सहमतिमा जान बाध्य पारेर सह अस्थित्व र कानुनी राज्यको याद दिलाउन बु न पा ले कामपालाई बाध्य पारेको छ ।
सिमानामा हुने सबै प्रकारका कामहरु दुबै पक्षको बराबरी अधिकार र दायित्व हुने कुरा सम्झाई दिएको छ । केही स्थानियहरुको भनाइ छ , भत्काएर मात्रै हुन्न स्थानीयको समस्या समाधान गर्न ठेक्का लागी सकेको बक्स कलभर्ट सहितको योजना पुरा गर्दा अब खहरेको बाढिको समस्या समाधान हुने उनिहरुको तर्क रहेको छ ।
अर्को तर्फ बालेन्द्र शाहले गरेको खहरे खोल्ने कार्यले माथि सम्म अब पुर्णता पाउँने र खहरेको दुबै तर्फ चार मिटरको बाटो कायम गरेर खहरेले सधै आकाश देख्नु पर्ने अर्को थरी स्थानीयहरुको मत रहेको छ । यदी खहरेको दुबै तर्फ चार मिटरको बाटो कायमनै गर्ने हो भने दुबै तर्फका धेरै घर टहराहरु भत्काउनु पर्ने हुन्छ ।
तेतिबेला संविधानले प्रत्याभूत गरेको व्यक्तिको निजि सम्पतीको हक अनुसार मुआब्जा दिएर मात्रै घर टहरा भत्काएर बाटो कायम गर्नुपर्ने हुन्छ ।यो पीडित स्थानीयहरुको आवाज हो । प्रत्यक्ष पिडित स्थानीयहरुको फरक फरक मत भएता पनि डोजर हेर्न आउने टाढाका रमितेहरु र हिजोको परिवेस मापदण्ड र भोली हुने समस्याहरू नबुझी साततले मिलनचोक क्षेत्रमा कमिलासरी भेला भएका युट्युब र मिडिया हरुमा चर्को प्रतिक्रीया दिई रहेका भेटिन्छन।
मिडियाका सामु बालेन शाहको जय जयकार गरिरहेका भेटिन्छ्न । केही व्यक्तिहरु खहरे खोलामा राजनीतिक प्रतिसोध साध्ने सोचले विभिन्न युट्युब र सामाजिक संजालबाट उग्र रोष प्रकट गरीरहेका पनि छ्न। यस्ता उग्रवादी कुराहरु केहिदिन तात-तातो बिक्री भएपनि वास्तविकता उजागर भएपछि आफै सेलाएर जानेछ्न ।
अन्त्यमा चखुँन्चा खहरेको ढल आगामी केही महिना भित्रै झिकेर बक्स कलभर्ट बन्ने प्राय निश्चितै थियो । आफू बिकासवादी अर्को बिकास बिरोधी भन्ने भाष्य निर्माण हुने जसरी सह अस्थित्व भएको अर्को स्थानीय तहलाई अवमुल्यन गरेर सिमामा रहेको खहरेखोलामा राखीएको ह्युम पाइप मध्य बर्खामा झिक्न काठमाण्डौ महानगरलाई जति हतार भयो तेतिकै रफ्तारमा स्थानीय जनताको मानवीय संबैधानिक अधिकार लाई सम्मान गर्दै चखुँन्चा खहरेलाइ नयाँ जीवन दिन दुबै स्थानीय सरकार सफल हुनेछ्न ।
अन्यथा भत्काएर मात्रै छोड्दा बर्खा अझै बाँकी रहेकोले केही घन्टाको मध्यम खालको वर्षा भयो भने मात्रैपनि निकट भबिस्यमै चखुँन्चाले ठूलो बिनास निम्त्याउने छ ।
जताततै भत्काएर मात्रै छोडदा अहिले अन्धाधुन्दमा देवत्वकरण गर्नेहरुलेनै माहानगर प्रमुख बालेन्द्र शाहलाई भोली अर्को उपनामले गाली गर्ने दिन नआओस्।
आशा छ, दुबै स्थानीय सरकारले बुद्दिमताका साथ स्थानिय जनताको भावना अनुसार कानुनी र व्यवहारीक पक्षलाई ध्यानमा राखेर काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र बागमती प्रदेश पुर्वाधार कार्यलय समेत संग समन्वय गरेर अगाडि बढ्ने छ्न्। मिलेर काम गर्दा सबैको जित नै हुनेछ । चखुँन्चा र स्थानीयले न्याय पाउनेछ्न । अनिमात्रै दिगो बिकास तर्फ अगाडि बढ्न सकिने छ ।आवेगले हैन बिवेकले काम गरौ । सिमामा एकलौटी हैन समन्वय गरौ ।
तपाइँको प्रतिक्रिया ।