स्वतन्त्र : धिरज बराल ( लघुकथा)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
काठमाडौँ, भाद्र २।
‘प्रिय योगराज, लगा तेरो ध्यान, कस्तो होला यो बिहान अनि के होला मेरो खोजको अभियान ?’ सधैँको प्रश्न तेर्साउँदै सुगाको अघि उभियो
ऊ । वास्तवमा विगत बीस वर्षदेखि स्वतन्त्रता खोजिरहेथ्यो ऊ । स्वतन्त्रताको खोजमा गाउँ–गल्ली चहारिसकेको थियो, तर असफलता मात्र मिलेको थियो उसलाई । नैराश्यताको पहाड छातीमा बोकेर पिँजडा अघि धरमर उभिएको थियो त्यो बिहान पनि ऊ । सँधै दिने गरेकै जवाफ दियो योगराजले । ‘लगाऊ आफैमा ध्यान, लगाऊ आफैमा ध्यान !’ आखिर एकदिन, साँच्चिकै उसलाई ध्यान लाग्यो । त्यो बिहानी, एउटा फरक बिहानी थियो । त्यस बखत पिँजडा रित्तो थियो, तर पिँजडा भित्रको शुन्यतामा गुन्जिएको योगराजको मौनताको आवाज उसको ध्यानी मस्तिष्कमा निरन्तर गुन्जिरहेको थियो, ‘प्रिय मालिक, मेरो हेरचाहमा तपाईंले यत्रो वर्षसम्म दिनरात गरेको सेवाले खासमा तपाईंलाई मेरो दास बनाइरहेको थियो, र मलाई तपाईंको मालिक भएँ ।’ रित्तो पिँजडा अघि, सुनौलो बिहानीसँगै स्वतन्त्र नाचिरहेको थियो, ऊ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।