स्वामी चन्द्रेशप्रति : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
कता के छ कता के छ जिन्दगीको तथा पनि
कैले बन्दछ झैँ लाग्छ कैले भत्कन्छ जीवनी
एउटा श्रृङ्खला यस्तै स्वामी चन्द्रेशको रह्यो
जन्मी भारतमा ध्यान नेपालतर्फ मोडियो ।१।
बीस वर्ष गरे ध्यान शिवपुरी बसीकन
पवित्र बागमतीको उद्गमस्थलको वन
बसे आश्रममै स्कूल खोलेर छर्न प्रेरणा
ज्ञान चक्षु सधैँ खुल्ने चम्किलो अनुहारमा ।२।
शब्दभित्र थिए भाव बोलीमा स्पष्टवादिता
कलाभित्र हुनेगर्थ्यो सह्स्र भावसंहिता
कविता लेखमा झुल्थ्यो भुल्को साहित्यको निको
राग संगीतमा खुल्थ्यो निखार उच्चकोटिको ।३।
एकै व्यक्तित्वमा त्यत्रो त्रिबेणी ज्ञानको हुनु
लोभ लालस त्यागेर जोगी बन्न रमाउँनु
ध्यान र तपमा रम्दै ज्ञान दीप जलाउनु
शिवको काखमा चम्की त्यै काखमा निदाउनु ।४।
साहित्यका भनी प्यारा भेटेँ प्रथम भेटमा
पञ्चस्नान गरी धर्ती ढोगे अन्तिम फेटमा
झिल्कोझैँ चम्किँदै कुद्थे ज्ञान दर्शन फाँटमा
हिन्दु देश बनोस् भन्दै माया दिँदै रहे सदा ।५।
पद पैसा भनी कैल्यै लागेनन् भूपका पछि
हे मेरी प्रेयसी भन्दै लागेनन् रूपका पछि
एकत्व जिन्दगी रोजे आत्मिक कान्ति झल्मल
कला साहित्य वा ध्यान नै हो चन्द्रेशको बल ।६।
कण्ठमा विष बोकेर सुतेका छन् जहाँ शिव
शिवकै एउटा भक्त निदायो सुस्तरी अब
आदर्श नसुकोस् फक्रोस् रमेर ज्ञान कुञ्जमा
त्यागको पसिना फुल्ने यो बुढानिलकण्ठमा ।७।
पछि लाग्यो ठूलो रोग त्यागी दिग्गज सन्तमा
नगरी किड्निले काम धोका दिएछ अन्तमा
कलामा काव्यमा खोजौँ भेटौँ चन्द्रेश झल्झली
त्यागको पुञ्जमा अर्पेँ यी शब्दपुष्प अञ्जुँली ।८।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक