सात देशको निःशुल्क प्रवेशाज्ञा र टिकटको सम्झौता नरोकिने

सात देशको निःशुल्क प्रवेशाज्ञा र टिकटको सम्झौता नरोकिने

काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ ।

download

वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली कामदारको सङ्ख्या बढी भएका साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमन र मलेसियामा लागू गरिएको सो व्यवस्था आगामी दिन अन्य मुलुकमा पनि विस्तार गर्दै लगिने जानकारी दिनुभयो ।

हाल ३७ लाख कामदार वैदेशिक रोजगारमा छन् । राज्यमन्त्री गुरुङले घर खेतसमेत बन्धकी राखेर कतिपय कामदार वैदेशिक रोजगारमा पुगेको, केहीले तोकेको काम नपाई दुःख पाएर फर्किनुपरेको र केहीले ऋण तिर्न नसकेर आत्महत्यासमेत गर्न पुगेको गुनासो आएकाले कामदारका हितका लागि सरकारले सो व्यवस्था गर्नुपरेको बताउनुभयो ।

सो व्यवस्थाले सङ्घको व्यवसायमा असर नपुग्ने भएकाले आन्दोलनको कुनै तुक नभएको उल्लेख गर्दै उहाँले अब हाम्रा कामदार पैसा तिरेर होइन निःशुल्क प्रवेशाज्ञा र टिकट लिएर वैदेशिक रोजगारमा जान्छन् भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष टिबी कार्कीले जुन मुलुकले वैदेशिक कामदार मगाउँछ सोही मुलुकले कामदारका लागि टिकट र प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था गरेको बताउँदै नेपाली कामदारको इमान्दारी र बफादारितले नै वैदेशिक कम्पनीले नेपाली कामदारलाई बढी मन पराएका हुन् भन्नुभयो ।

तपाइँको प्रतिक्रिया ।