मेयरसाब ! लम्पी स्किन भनेको थाह छ ?

मेयरसाब ! लम्पी स्किन भनेको थाह छ ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १०/ यशराज गौतम

बिहान १०.१५ बजेको समय छ । बुढानीलकण्ठ दरबारको प्राङ्गणमा अर्धनिर्मित गोलाकार संरचना सँगै जोडेर मेरो निजि दुई चक्के सवारी साधन सवारी साधन पार्किङ लाईनमा राख्दै थिए । मुल प्रस्थान अगाडि वाट एउटा हरियो लुगा लगाएको सुरक्षाकर्मी जस्तै देखिने ब्यक्तिको आवाज आयो । ” बाईक उता अगाडि लाईनमा राख्नुस ।

” नगरपालिका, स्थानिय सरकार, घर घरमा सिंहदरबार तर जनताका समस्यामा कुनै सहयोग गर्दैन भने के को सरकार ? मन भरी आक्रोश थियो । त्यो हरियो लुगा लगाउने मान्छे सँग बाज्न मन थियो । आखिर त्यो लाईन पनि त पर्किङ नै थियो । जे हामिले भन्छौ त्यसै मात्र गर भने झै गरेको आदेशको प्रतिबाद गर्न मन लागेको थियो । भैगो होस के प्रतिबाद गर्नु भन्ने सोचेर अगाडिको लाईनमा सारे । देशब्यापी रुपमा लम्पी स्किन भन्ने रोग फैलिएको छ । भर्खरै आफ्नो गोठमा भएको लैनो माउ र बाच्छा समेत गरि २ वटा गाई मर्यो । अरु २ वटा गाई बाच्छामा भर्खरै लक्षण देखा परेको छ । गोकर्णको नयापाटी देखि निजि चिकित्सक बोलाएर पटक्कै पिच्छे दाम चढाउदै सकेको कोसिस गरियो । हाम्रो केही सीप लागेन ।

देश्ब्यापी रुपमा यस्तो महामारी फैलिएको छ, जनताको सर्वस्व भयो । तर सरकार प्रमुख बेखबर छन । समस्या मेरो निजि थियो । तर जुन समस्या मेरै जस्तो धेरैको हुन्छ त्यस्ता समस्या पनि सामुहिक हुन जान्छ । र सामुहिक समस्यामा सरकार संवेदनशिल पनि हुनु पर्दछ । तब न सरकार भएको महसुस हुन्छ । त्यो दिन म हाम्रा नगर प्रमुखलाई एउटा प्रश्न सोध्न गएको थिए ।

तपाईले लम्पी स्किन भन्ने रोगको बारेमा सुन्नु भएको छ ? तेसै त कृषि क्षेत्र उपेक्षामा परेको छ । त्यस माथि  पनि महामारिको कारण गोठ गोठमा चौपाय मरेका छन तर नगरपालिका भने असारे बजेटको चटारोमा विभिन्न कार्यक्रममा खादा र मायाको चिनो समाउदै हिडेको फोटामा देखिन्छन । केही वर्ष अगाडि कोरोनाको महामारी फैलियो, देश लकडाउन भयो, क्वारेन्टाईन, आईसोलेसन, भ्याक्सिन के के हो के के ? तर पशुको जीवन चही जीवन होइन ? त्यस्ले भोलिको दिनमा मानबिय दैनिकिमा असर नगर्ला र ? अलि अलि हो र तथ्यांकमा मात्रै १५ हजार चौपाया  मरेको समाचार भेटिन्थे ।

तथ्यांक बाहिर त अझै कति थिए होलान तर मेरो नगरपालिका भएको कुनै महसुस भएन । ठूलो महामारी आएको छ । गोठ गोठमा चौपाय मरेका छन । कम्तिमा त्यस्को ब्यबस्थापनमा ती हरिया लुगा लगाएकाहरुलाई खटाएको भए पनि त सकिन्थ्यो होला । त्यति पनि गरेन मेरो नगरपालिकाले । हेर्दा सानो कुरा गरेकी जस्तो लाग्ला तर एक पटक त्यो रोगी चौपाय स्याहार्दा स्याहार्दा थाकेको कृषकलाई सोध्नु । झण्डै एक टन वजन भएका चौपायको लासको ब्यबस्थापन गर्न कति कठिन होला ? यदि बहिरवाट मान्छे बोलाउने हो भने १५ हजार सम्म शुल्क लिन्छन । लाखौको चौपाया  मरेको छ ।

उपचारमा हजारौ खर्च भएको छ । त्यस माथी ब्यबस्थापनको लागि थप खर्च । दिन भरी हरिया लुगाधारी दरबार वरिपरि देखिन्छन । कहिलेकाही नेताका वरिपरि पनि देखिन्छन । यस्तो शंकटमा काम नलाग्ने जथ्था के का लागि ? हतारिदै मेयरको कक्ष तर्फ गएँ तर त्यहा खाली थियो । त्यहाँ भेटिएका कर्मचारीलाई समस्याको बारेमा जानकारी गराएँ । कर्मचारीले चपली घुम्तिमा रहेको पशु सेवाशाखामा जान सुझाए । तुरुन्त घुम्तिको पशुशाखाका मुस्टिक जस्ता देखिने इन्चार्जलाई समस्या सुनाए । मलाई एउटा चर्मोल, आधा केजि जतिको एउटा प्याकेट र केही थान सिटामोल थमाउदै यो लगेर खुवाउनुस भनेर अह्राए । म जस्तै समस्यामा अर्का एक जना पशु कृषक जस्तै देखिने प्रौढ निन्याउरो अनुहार लगाएर अघि पछि गर्दै थिए । मैले प्रश्न गर्दै भने जनताको श्रीसम्पत्तिको यति धेरै नोक्सान भएको छ ।

तपाईहरुले रोकथामको लागि के गर्नु भयो ? यस्तो महामारीको बारेमा तपाईहरुलाई त थाह नै थियो होला ? महामारी फैलिन नदिनको लागि केही प्रयास गर्नु भएको छ ? मुस्टिबले प्रशन्न मुद्रामा उत्तर दिए । छ त ! हामिले फेसबुकमा राखेका छौ । सूचना टास गरेका छौ । तपाईको सूचना र फेसबुकले म जतिको मान्छेलाई त छुन सकेन भने (ती कृषक प्रटी इंगित गर्दै) वहालाई कसरी प्रशिक्षित गर्न सक्ला ? कुनै चेतनाका कार्यक्रम गर्नु भएको छ ।

कम्तिमा ती हरियो लुगा लगाउनेहरुलाई एक पटक सबै वडा घुमाएर माईकिङ्ग त गर्न सकिन्थ्यो ? गर्नु भएको छ ? त्यस्तो त गरिएन । हसिलो मुद्रामा उत्तर आयो । जब नागरिकको समस्यामा सरकार मुसुमुसु हासेर हेर्छ भने के आश गर्न सकिन्छ र ? भिखमा पाएको केही थान औषधि बोकेर गोठमा फर्किए । साथमा एक पटक हेरिदिन बिनम्र अनुरोध पनि गरे । गोठबाट बहिर नै ननिकालेको गाईलाई कसरी रोगले छोयो होला ? चिया पसलको चोकमा कुराकानी हुँदै थियो ।

यो रोग लेराउने त्यही चिकित्सक नै हुन । रोग लागेको गोठमा गयो अनि लगत्तै अर्को निरोगीकोमा गएको कारण फैलिएको हो । हुन पनि रोग लागेको चौपायलाई प्रयोग गरेको सुइ निर्मलिकरण नै नगरी अर्कोलाई प्रयोग गर्दछन । अझ सुरक्षाका मापदण्ड त बनेको सम्म पनि छैन । मान्छेमा कोरोना फैलिदा कसरी पिपिई लगाईन्थ्यो त्यसरी नै जान त सकिन्थ्यो होला ।

तर मुसुमुसु हास्नेहरुलाई कमाईको पर्व भएको छ । यसो आउदा जाँदा हजार दुई हजार असुलेको छदै छ । जति रोग फैलियो त्यति धेरै कमाई अनि मुसुमुसु हासो, स्वभाबिक हो । १५ दिन अगाडि गाईको प्राणको भिख माग्दै आएको थिए । आज जमिनमा पुरेको छु । एक महिनाको बाच्छोको मृत्यु कुरेर बसेको छ । म मुसुमुसु हास्न सकेको छैन ।

तपाइँको प्रतिक्रिया ।