धितो : गंगा खड्का (लघुकथा)

धितो : गंगा खड्का (लघुकथा)

 कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

‘होइन ए नानी, तपाईं के साह्रो उत्ताउलो हुनुभएको हँ ? गाउँलेहरुले कुरा काटेर गाउँ नै डुङ्डुङ्ती गन्हाउने बनाइसके । ‘लोग्नेको वर्ष दिनको काम सकेर केही दिन माइत बस्न आएकी प्रभालाई रमाले भनी ।

प्रतिप्रश्न गर्दै निन्याउरो भएर प्रभाले  सोधी, ‘मैले के गरेँ र भाउजू, गाउँ नै गन्हाउने गरी ?’
रमाले अप्ठ्यारो मान्दै भनी, ‘खोइ नानी, गाउँलेहरु लोग्ने मरेको बल्ल एक वर्ष भयो, कति खुसी भएर टिकटक बनाउँछे  र फेसबुकमा फोटो हाल्छे भनेर कुरा काट्दा रहेछन् ।’
‘भनेपछि अब त्यही फोटो र टिकटकमा खुसी भएको मेरो देखावटी हाँसोमा नि धमिरा लाग्न थालेछ होइन भाउजू ?’
रमा लज्जित मुद्रामा रातोपिरो र नाजवाफ भई ।
प्रभाले लामो निः स्वास लिँदै भनी, ‘भाउजू ! यो मनमा पीडाका ज्वारभाटा त कति उर्लेका छन् कति, तिनका लेखाजोखा गरी के साध्य छ र ? तर के गर्नु आँसुलाई धितो  राखेर अरुसँग सहानुभूति बटुल्न मेरो स्वाभिमानले दिँदैन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।