पानी माथि ओभानो : छायादत्त न्यौपाने बगर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २३।
उफ्, कतिचर्का घाम ! खै, सिर्सिराएन भञ्ज्याङको चौपारी पनि । अङ्कित बोल्दै थिए ।
हैन हौ ! अचेल महिलाहरू अधिकारको डाँको चर्को पार्ने कर्तव्यको आग्लो पर मिल्काउने भाछन् नि ! प्याच्च बोलिन् बिचमा विनिता ।
छेउमै बसेका सविनले विनिताको अनुहार हेर्दै –हैन तिमी महिला हकहितका कुरा गर्दै छौ कि विरोध ?प्रश्न गरे ।
म दुवै हैन ! मलाई पक्ष–विपक्षबन्नु छैन । म त सही र व्यवहार प्रिय पक्षमा छु, विनिताले स्पष्टीकरण दिइन् ।
अङ्कित काका पनि चुप रहिरहने कुरो भएन–यो महिला/पुरुष, सासू बुहारी जस्ता कमजोर मनको उपज नै ठिक छैन । परिवारभित्रै यति ठुलो विभेद पाल्नु हुन्छ ? केको महिला–पुरुष? केको सासू– बुहारी सबै परिवारका सदस्य ! परिवारभित्रै हक–अधिकार खोज्न/ खोस्न पर्ने ? यस्तै बासी–तेसी चलन, सोच, व्यवहार सबै बेठिक । बिग्रेको यहीँबाट हो । यहीँबाट सचिनु पर्छ ।
काका कुरा घर भित्रको मात्रहैन नि ! सविन स्पस्टिन खोजे ।
मैले बुझ्या छु । घरबाट सुधार भएपछि सबै ढोका खुल्छन् । काकाले चुनौती घरमै रहेको स्पष्टीकरण दिए ।
उनी अघि बढे–मान्छे आफै म–सचेत, इमानदार, आत्मीय व्यवहार प्रिय छु भन्छ हैन ! तर बिडम्बना मान्छे छुचो छ ! उसका लागि अरुले थिचोमिचो सहि दिनुपर्ने ! परिवार प्रति उसको जिम्मेवारी हुनु नपर्ने हो ?अङ्कितको तितो कड्क सुनेर विनिता र सविन ट्वाँ…परे ।
उनीहरूको अनुहारमा आश्चर्य भरिएको देखेपछि अङ्कितले थपे–आफू भलो त जगत भलो ! अधिकार खोज्ने पुरुष–महिलाले कर्तव्यमा आगो नझोसे, इमानदार भइदिए समस्या कहाँबाट आउँछ ?
यहाँत सबैलाई स्वार्थवश पानी माथि ओभानु छु भनेर फुइँलाउनु– पर्ने !
तपाइँको प्रतिक्रिया ।