सांसदले यिनलाई के सक्थे ?
२४ असार । ‘शक्ति’ भन्ने चिज सधैँ एकनासको हुँदैन । लोकमानसिंह कार्कीले सिपाहीदेखि डिएसपीसम्मलाई यसरी लात हानिदिएका छन् कि, एकथरि प्रहरीमाथि अन्याय भएको देख्दादेख्दै पुलिसकै एआइजीबाट रिटायर्ड भई अख्तियार आयुक्त बनेका केशव बरालले दाह्रा किटेर बस्नबाहेक केही गर्न सकेनन् ।
आयुक्तहरुको कोठाभित्र को जान्छ, को निस्कन्छ र के–के कुरा हुन्छ भन्ने रिपोर्ट चाहिने लोकमानले प्रहरीकै विशिष्ट श्रेणीबाट अवकाश पाएका बरालका पछाडि पनि सुराकी खटाउन बाँकी राखेनन् । अर्थात्, बरालकै सुरक्षा सहयोगी खोसे । अहिले त्यहाँ प्रहरी मुख्यालयस्थित कप्रको ‘गोप्य शाखा’ बाट इन्स्पेक्टर चन्द्र लामा पठाइएका छन्, जो बरालको रुची र अनुकूलताका व्यक्ति मानिँदैनन् ।
बरालको सचिवालयमा ६ महिना बसेका प्रहरीहरु अवधी नपुग्दै हठात् निकालिए । त्यसमध्येका सिपाही विष्णु गुरुङले थमौतिका लागि रुवाबासी गरेपछि बरालले त्यहाँका डिआएजी पशुपति उपाध्यायलाई हाकिमी शैलीमै सोधे, ‘किन यस्तो भयो ?’ तर, पशुपतिले रुखो शैलीमा ‘मलाई थाहा छैन, उतै सोध्नुस्’ भन्दै लोकमानतिरै औंलो तेस्र्र्याए । आफ्नै डिआइजी बाँगिएपछि अरुसँग के सोधून्, बरालले † अचम्म के छ भने, पुस्कर बस्नेत र शिवराज बस्नेतजस्ता इस्न्पेक्टरहरुले जागिर खाएदेखि पेन्सन नै अख्तियारमा पकाउने बेला भइसक्यो । प्रहरीमा जागिर खाएका कर्मचारीले एक हप्ताको ‘क्याबी’ बाहेक अर्को बिदा पाउने प्रावधान छैन । तर, अख्तियारबाट ६ महिनाको बिदा स्वीकृत गराई त्योभन्दा बढी समय अमेरिका बसेर फर्किंदा पनि पुस्करको जागिर सुरक्षित छ ।
अर्का इन्स्पेक्टर रवीन्द्र पाण्डे पनि यस्तै खेलाडी थिए । लोकमानकै सिफारिसमा हालै बूढानिलकण्ठ प्रहरी प्रभागको इञ्चार्जका रुपमा पठाइएका छन् । कराण हो, यिनीहरु परे लोकमानका घुमुवा । ‘नाकले सुँघेर मुद्दाको ओजन र आम्दानीको स्तर पत्ता लगाउने’ सईहरु अश्विन सिंखडा, दीपक घिमिरेलाई पनि त्यहाँबाट कहिल्यै सार्न दिँदैनन्, लोकमानले । तर, ६ महिनामै अख्तियारबाट लात मारिएका डिएसपी हरिहरनाथ योगीको कथा दर्दनाक छ । लोकमानविरुद्ध अखबारमा समाचार छापिएपिच्छे कहिले निजामतिका त कहिले प्रहरीका कर्मचारी सारफेर हुन्छन् । हरिहर पनि समाचारकै नाममा बेकसुर परेका हुन् । कारण रहेछ, पुलिस इन्स्पेक्टरमा भर्ना भएको केही समयमै ‘भगौडाखालि’ मा परे । जागिर नहुँदाका दिन अन्नपूर्णपोष्ट दैनिकमा कानुन मामिलाको पत्रकारिता गरे । र, ०६३ मा अदालतबाट मुद्दा जितेर पुनर्बहाली भए । लोकमानले ‘पहिला पत्रकारिता गरेको केटो अहिले डिएसपी भएर यहाँ बसेको छ’ भन्दै धपाउन लगाएका हुन् ।
त्यस्तै, डिएसपी माधव खत्री र इन्स्पेक्टर बद्री पौडेल पनि हरिहरकै शैलीमा लखेटिएका छन् । त्यसरी लखेटिनेमा गृहमन्त्री वामदेव गौतमको पुल्चोक निवासमा कहिलेकाँही भात पकाउन पुग्ने पण्डित थरका हवल्दार पनि परेका छन् । उता, एसपी हुँदा अख्तियार बसेका भरत शर्मा एसएसपी बढुवासँगै हेडक्वार्टरको ‘अति आकर्षक’ मानिने बजेट महाशाखामा बसे । अब उनको जागिरको समय थोरै बाँकी छ । बजेटमा बसेर गरेको चकचकी मिलाउन फेरि अख्तियार गएका छन् । सँगै ससुराली नाताका डिएसपी स्थानेश्वर रेग्मी पनि अख्तियार पुगेका छन् । उनीहरु विहान ७–८ बजेतिरै अख्तियार पुग्छन्, राति ८ बजेपछि मात्र निस्कन्छन् । लोकमानको सचिवालयले प्रहरीको सरुवा सूची तयार पार्ने र प्रहरी हेडक्वार्टरको कप्रले त्यसलाई आफ्नो फम्र्याटमा ढालेर सरुवा निकाल्ने क्रममा हालसालै कप्रका अधिकृतहरुले आइजी उपेन्द्रकान्तको नराम्रो गाली खाए ।
लोकमानले पठाएको सूचीमा निर्मल नेपाल नामक आइजीका आफन्त पनि परेका रहेछन् । अख्तियारकै महाशाखा प्रमुख ऋषिराज दवाडीका भतिजो राजेन्द्र पनि सूचिमा थिए । ‘बुझ्दै नबुझी जे पठायो, त्यही निकाल्ने’ भन्दै कप्रका अधिकारीले हप्की खाएका हुन् । पछि ती नामहरु संशोधन गरिए । उता, सरकारले सुरक्षाकर्मीहरुलाई भिआइपीहरुको घरमा घरेलु कामदारका रुपमा खटाउने कुरामा कडाइका साथ नियन्त्रण गरिरहँदा प्रहरी हेडक्वार्टरले लोकमानका पिए तथा भूपू एसएसपी गोबद्र्धन श्रेष्ठलाई दुई जना घरेलु कामदार पठाइदिएको छ । अवकाशप्राप्त आइजिपीले एकजना पिएसओ मात्र पाउँछन्, घरेलु कामदार पाउँदैनन् । तर, गोबद्र्धनको घरमा अहिले पनि मिलन केसी र अर्का एकजना घरेलु कामदार छन् । भूकम्पले घरबार लगेपछि छुट्टी माग्दा पनि गोबद्र्धनले मिलनलाई छुट्टी दिएनन् । बिलौना पोख्न प्रमुख आयुक्तकहाँ जान खोज्दा गेटबाटै लखेटिए । जनआस्था साप्ताहिक बाट