विदेशीसँग विवाह गर्छु भन्दै ठग्ने नेपाली युवती चिनौँ
२४ असार । विदेशी नागरिकसँग ‘बिहे गर्छु’ भन्दै आश देखाएर ठगी † ‘बुबा बिरामी हुनुुहुन्छ, निको नभइकन बिहे गर्दिनँ’ भन्दै फेरि अर्को ठगी † यसरी अनलाइनमा गाँसिएको मित्रता अन्ततः पैसा धुत्ने माध्यम बन्यो । हुँदाहुँदा प्रहरीका अगाडि आँशुको बलिन्द्र धारा बगाएर रुनुपर्ने स्थिति आइलाग्यो ।
ताहाचल, बाफलकी अनिता सिंह (नाम परिवर्तन) ले क्यानाडियन नागरिक रुद्र टिंकर डेलाई यसरी ठगिन् कि बिहेको आशमा कुनै युवतीमाथि गरेको लगानी त्यसै खेर जाने भएपछि पीडित विदेशी युवती खोज्दै आए । मुद्दा, मामिला गरे । प्रहरीमा उभ्याए । पकनाजोलको एउटा होटलमा दिनको १० डलर तिरेर एक महिना बसेका रुद्र बंगालीमूलका क्यानाडियन हुन् । पेशाले इञ्जिनियर । सिसि ७३८० राहदानी नम्बर हो । धेरै दुःख गरेर कमाएको पैसा फिर्ता नदिए कानुनबमोजिम सजायँ होस् भन्दै प्रहरी कार्यालयमा धेरै दिन धाए । तर, ‘सक्दिनँ–सक्दिनँ’ भन्दै युवतीले चिहिलबिहिल गर्न थालेपछि के लाग्थ्यो र, त्यसै हिस्सिए ।
१९७१ मा पाकिस्तानबाट छुट्टिएर अलग्गै देश बन्यो, बंगलादेश । यी पीडित परे हिन्दू धर्म अंगाल्ने, तर बंगलादेशतिरका । यही कारण परिवार विस्थापित भयो । एक्ला छोरा रुद्र टिंकरले बंश धान्नुपर्ने † त्यसका लागि हिन्दू युवती नै चाहिने । क्यानाडातिर हिन्दू युवती हत्तपत्त नपाइने । पाइहाले पनि खोजेजस्तो नहुने । यसपछि सहारा लिए अनलाइनको । विभिन्न म्यारिज व्युरोका वेभसाइटदेखि अनेकन पोर्टलमा व्यस्त रहे । यही क्रममा भेटे ‘ईडेटिङ डट कम’ । त्यहाँ डेटका लागि तयार भएकी हिन्दू युवतीका रुपमा थिइन्, अनिता । उनले अनलाइनमा आफूलाई ब्राह्मण नै भनेकी थिइन् । प्रमाणित गर्न शिव, पार्वतीको फोटोमा पूजा गरेको पनि देखाइन् (तर, उनी बौद्ध धर्म मान्ने काठमाडौंको स्थानीय नेवार परिवारकी सदस्य हुन्) ।
यसरी बढेको हिमचिम विवाहको तहसम्म पुग्यो । सन् २०१० मा हो, उनीहरु डेटिङ पोर्टलमार्फत भेटिएको । विवाहको कुरा निस्किँदा छोटो समयमै नजिकिएपछि सन् २०११ मा दुलही लिएर फर्किने योजनासाथ रुद्र पहिलोचोटि काठमाडौं आए । अनिताको परिवारका सदस्यहरुसँग पनि भयो । अनिताका बुबा विरामी थिए । अनिताले भनिन्, ‘एक्कासी बुबा विरामी हुनुभयो । निको भएपछि मात्रै विवाह गर्छु ।’ रुद्रले पत्याए । बुबा निको हुने समयसम्म काठमाडौं बस्नुभन्दा क्यानाडा फर्किनु बेस ठाने । अनिताले भनिन्, ‘काठमाडौंमा हामीले बिवाह गरेपछि बस्न घर चाहिन्छ । त्यसैले अलिकति एडभान्स छाडिदेऊ ।’ अनिताको कुरा मान्दै उनी फर्किए । अनितासँग सधैं अनलाइनमा कुरा हुन्थ्यो । बुबाको शारीरिक समस्या झन्झन् जटिल बन्न थाल्यो । आर्थिक अभाव देखाइन् । जबजब अनिता अभाव देखाउँथिन, तब–तब रुद्र पैसा पठाइदिन्थे, वेस्टर्न युनियन मनि ट्रान्सफरबाट । अनिताले बुबाको उपचारका लागि एकपल्ट ७५ हजार अमेरिकी डलर ऋणबापत मागिन् । त्यसबाहेक विभिन्न समयमा खुद्राखाद्री पैसा गरेर जम्मा डेढलाख डलर पठाएका थिए ।
अनिताका बुबाको निधन भयो । उनले पूर्वशर्तअनुसार रुद्रसँग विवाह गरिनन् र पैसा पनि फिर्ता दिइनन् । बरु, अनलाइन कुराकानीमा आफ्नो अर्कै केटासँग रिलेसन शुरु भएको बताइन् । यसपछि रुद्र आक्रोशित भए । रकम पठाएका सबै रेकर्डहरु थिए । रकम फिर्ताका लागि प्रक्रिया शुरु गर्ने बताए । तर, रुद्रको मन फर्काउन अनिताले एउटा नाटक रचिन्, कोही सरोज डंगोल नामक युवकलाई ‘अनिता मेरो गर्लफ्रेन्ड हो’ भन्दै फोन गर्न लगाइन् । सरोजले भने, ‘म उसको ब्वाइफ्रेन्ड हो । तर, उनीसँग मेरो शारिरिक सम्बन्ध केही पनि छैन । यदि तिमी उसलाई माया गर्छौ भने बाटोमा बाधा बन्ने छैन ।’ तर, यी सब कुराले रुद्रको मन फर्किएन । एउटै कुरा दोहो¥याइरहे, ‘कि मसँग विवाह गर, कि विवाह गर्ने शर्तमा लिएको पैसा फिर्ता गर ।’ अनिताले यी दुबै कुरा गरिनन् । बरु, प्रहरीमा विद्युतीय कारोबार ऐनअनुसार जाहेरी दिइन्, रुद्रले आफूलाई अनलाइनमार्फत धम्की दिएको भन्दै । प्रहरीले अनुसन्धानका क्रममा अनलाइनबाटै रुद्रसँग सम्पर्क ग¥यो । त्यसबेला मात्र रुद्रले थाहा पाए, नेपालमा पनि कानुन रहेछ, न्याय र अन्याय छुट्टयाएर सजायँ हुने पनि रहेछ भन्ने कुरा । प्रहरीले आफ्नो निर्दोषिता प्रमाणित गर्न आफैं आउनुपर्छ भनेपछि रुद्र नेपाल आए । पकनाजोलकै होटल मालिकमार्फत यहाँका वकिललाई भेटे । र, ठगीको जाहेरी, प्रमाणसहित प्रहरीमा उपस्थित भए । यसपछि कुरा उल्टियो, अनिताको विद्युतीय कारोबार होइन, रुद्रमाथि ठगीको मामिला गम्भीर भएको कुरा । पहिला त अनिताले ‘मेरो फुर्सद छैन’ भन्दै प्रहरीमा जान मानिनन् । बरु, बाहिरबाट रुद्रलाई धम्क्याउन थालिन् । प्रहरीले अनितालाई जहाँ भए पनि समाएर ल्याउने बताएपछि परिवारका सदस्य र साथीहरुसहित हनुमानढोका प्रहरीमा पुगेर भनिन्, ‘म पैसा तिर्न सक्दिनँ । सबै पैसा बुबाको उपचारमा खर्च भयो ।’ रुद्रले भने, ‘मान्छेलाई ठगेर पैसा छैन भन्न पाइँदैन । कानुनले तोकेको सजायँ भोग ।’ अनिता घरी घरी रुद्रलाई कुनामा लैजाँदै ‘म पैसा तिर्न सक्दिनँ । मलाई छोडिदेऊ ।’ भन्थिन् ।
तर, रुद्रले किन मान्थे र † क्यानाडादेखि न्याय माग्न आएको मान्छे, त्यत्तिकै फर्किन पनि भएन । प्रहरीहरुले सुझाव दिए, ‘बिहे गर्छु भनेर पैसा लिएपछि बिहे नै गरिदेऊ न त ।’ तर, अनिता समस्यामा थिइन् । बिहे गर्न ठिक्क पारिएका केटा पनि उनीसँगै प्रहरीमा पुगेका थिए । रुद्रले नछाड्ने भए । अनिता पनि पैसा तिर्नुभन्दा थुनिन तयार छु भन्न थालिन् । उनीहरु काठमाडौंमा महिनाको ७५ हजार भाडा तिरेर फ्ल्याटमा बस्छन् । रुद्रले डेढ करोड पनि होइन, ५०–६० लाख पाए छाडिदिने स्थिति बन्यो । तर, अनिताले मानिनन् । अन्ततः ठगी मुद्दामा थुनिने नै भइन् । यसपछि बल्ल अनिताका आफन्तहरु गले । नेपाल आउँदा, यहाँ बस्दा र यहाँबाट जाँदा जति खर्च लागेको हो, त्यो सबै अनिताको पक्षले व्यहोर्ने र मुद्दा फिर्ता लिएर रुद्र आफ्नै देश फर्किने । ठमेलको एउटा पवमा जनआस्थासँग रुद्र भन्दै थिए, ‘नेपाल विदेशीका छोरा बिहे गर्छु भन्दै ठग्ने छोरीहरुको देश हो भन्ने कुरा मनमा साँचेर जाँदैछु । यदि सक्छौ भने म अन्यायमा परेँ भनेर पत्रिकामा छापिदेऊ साथी।