राष्ट्रपति डा यादवबाट सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्मा प्रस्तुत गरी सम्बोधन गर्नुहुदैँ
काठमाडौँ, २३ असार । राष्ट्रपति डा रामवरण यादवबाट सरकारको आगामी आर्थिक वर्ष २०७२÷७३ को नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को आजको विशेष बैठकमा प्रस्तुत भइरहेकोे छ ।
राष्ट्रपतिबाट प्रत्येक आर्थिक वर्षको पूर्वसन्ध्यामा सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मा प्रस्तुत गरी सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले यही नीति तथा कार्यक्रमलाई मूल आधार मानेर आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्ययको विवरण संसद्मा प्रस्तुत गर्ने परम्परा रहँदै आएको छ । प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको संयुक्त सरकारले ल्याएको यो दोस्रो नीति तथा कार्यक्रम हो ।
सम्बोधन सुरु हुनुअघि प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रमको पुस्तिका प्रस्तुत गर्नुभएको थियो ।
संविधान लेखनसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि तार्किक निष्कर्षमा पु¥याउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउने दिशामा सरकारको नीति तथा कार्यक्रम कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
दिगो आर्थिक विकासको बाटोमा देशलाई अग्रसर तुल्याउने, भूकम्पबाट सिर्जित महाविपत्तिपछि नवनिर्माण, पुनःस्थापना एवम् पुनःनिर्माण, सुशासन प्रवद्र्धन, ऊर्जा विकास र कृषिको आधुनिकीकरणलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति डा यादवबाट आज अपराह्न ३ बजेबाट प्रस्तुत भइरहेको सरकारको नीति तथा कार्यक्रमको टेलिभिजन र रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।
यसअघि, राष्ट्रपति डा यादव सम्मेलन केन्द्र आइपुग्नुहँुदा सभामुख सुवास नेम्वाङले पुष्पगुच्छा प्रदान गरेर हार्दिक स्वागत अभिवादन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री सुशील कोइराला उपस्थित हुनुहुन्थ्यो ।
सोही कार्यक्रमका लागि नेपालको राष्ट्रिय झन्डा र रङ्गीचङ्गी ध्वजा पताकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई दुलहीझैँ सिँगारिएको छ । राष्ट्रपतिको सवारीलाई ध्यानमा राखेर समग्र बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ । सम्बोधन कक्ष पनि पुष्पगुच्छाले झकिझकाउ तुल्याइएको छ । सम्मेलन केन्द्र अगाडि रहेको पानीको फोहरा सञ्चालनमा ल्याइएको छ जसले यस क्षेत्रमा सुन्दरता थपेको छ ।
आजको बैठकका लागि व्यवस्थापिका–संसद् सचिवालयले आगन्तुकका लागि विशेष पासको व्यवस्था गरेको छ । बैठक सुरु हुनुभन्दा आधा घन्टाअघि नै सांसदहरु बैठकस्थल पुगेर आसन ग्रहण गरिसक्नुभएको थियो ।
उपराष्ट्रपति परमानन्द झालगायतका विशिष्ट महानुभावका लागि व्यवस्थापिका–संसद्को मूल बैठकस्थल माथि रहेको बाल्कोनीमा आसन ग्रहणको व्यवस्था मिलाइएको छ ।
अरु बेला अनौपचारिक पोसाकमा आउने सांसदहरु पनि आज धेरैजसो राष्ट्रिय पोसाक दौरा, सुरुवाल र कोटको पहिरनमा देखिनुभएको छ । राष्ट्रपति डा यादव संसद् भवन आइपुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।