आमाको चाहना : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं असार ९ ।
धर्ती फैलेसरि सरल भै फैलिँदै बाँच्नसक्ने
हाँसे आकाश सरह खुली चम्किँदै बाँच्नसक्ने
बोले जस्तै चिरविर चरी गाउँदै बाँच्नसक्ने
जन्म्योस् यौटा शिशु सबलता पाउँदै बाँच्नसक्ने ।
जन्म्योस् नानी सकल जगको फाल्नसक्ने अँध्यारो
जन्म्योस् नानी सकल पथको तोड्सक्ने तगारो
जन्म्योस् नानी नव हिमचुली दिव्य मुस्कान छर्ने
जाओस् छर्दै श्रम र पसिना नित्य संसार भर्ने ।
कालो कालो तम गगनको त्यो उसैले हटाओस्
कालो जालो मन र मनको त्यो उसैले फटाओस्
ल्याओस् चोखा दिन अनि सबै बन्द भन्दै लडाइँ
आमा बन्ने पुनः रहर के लाग्न थाल्यो मलाई ।
ढाँट्दै हिँड्छन् बहुत दुनियाँ ढाँट्न कैल्यै नजानोस्
हार्दै हिँड्छन् रिपुसंग कसै हार्न भन्ने नजानोस्
स्वार्थी बन्दै किनकि उसले हुन्न बन्नै कलङ्क
यौटा छोरो सकल जगको जन्मियोस् तीब्र चङ्ख ।
हुर्क्योस् छोरो हरपल सिमा कुर्नसक्ने बनेर
सुत्छन् भोकै उदर तिनको भर्नसक्ने बनेर
रोकी काली झलल बिजुली बाल्न सक्ने बनेर
जन्म्योस् छोरो कलह जगको फाल्नसक्ने बनेर ।
स्वार्थी मान्छे महलतिरका आँगनीमा निकालोस्
चोखा मान्छे अघि अघि हुने रीत पैले बसालोस्
कर्णालीको जनकपुरको हाल्न जानोस् अँगालो
जन्मोस् छोरो शुरविर बनी रोक्न सक्ने भँगालो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक