नन्द किशोर पुन को अडान उपचारका लागि नेपाल बाहिर जान्न

जेष्ठ २० – माओवादी पोलिट ब्यूरो सदस्य तथा जनमुक्ति सेनाका पूर्व संयोजक नन्द किशोर पुनले उपचारका लागि नेपाल बाहिर नजाने बताएका छन् । उनको दुवै मृगौलामा खराबी देखिएपछि उनलाई थप उपचारका लागि एयर एम्बुलेन्स मगाएर भारत पठाउने तयारी भइरहेको बेला उनले आफ्नो उपचार नेपालमै गराउने जनाएका छन् ।


 

 

 

 

प्रेस विज्ञप्ती

लामो समयदेखि मेरो स्वास्थ्यमा केही समस्या हुँदाहुँदै पनि मैले उपचारमा खासै ध्यान दिएको थिएन। मलाई सामान्य होला जस्तो लाग्थ्यो। यही २०६९ जेठ ११ देखि मेरो स्वास्थ्यमा थप समस्या देखिएपछि जेठ १६ गते राती चावहिलस्थित ओम अस्पतालमा आकस्मिक स्वास्थ्य परिक्षण गराउन जाँदा पहिले सामान्य झैं देखिए पनि जेठ १७ गते बिहान डा. भुवन कोईरालासँग पुनः परिक्षण गराउँदा मेरो दुवै मृगौलामा समस्या देखियो। त्यसपश्चात तत्काल थप उपचारका लागि नेपाल मेडिकल कलेज, शिक्षण अस्पताल जोरपाटीमा रिफर गरियो। यहाँ मृगौला विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्रीले परिक्षण गर्दा दुवै मृगौलामा गम्भीर समस्या आएको रिपोर्ट आएपछि म अहिले उपचारकै क्रममा छु।

मेरो स्वास्थ्य अवस्था बुझ्न हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)का अध्यक्ष कमरेड प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका उच्च नेतृत्व, सबै नेता तथा सम्पूर्ण कार्यकर्ता, आफन्तजन, सुरक्षा निकायका उच्चअधिकारी, पत्रकार तथा आम शुभचिन्तकहरु अस्पतालमा आउनुहुँदा मलाई थप हौसला प्राप्त भएको छ। म एउटा समाज परिवर्तनमा लागेको व्यक्ति भएकाले रोगसँग लड्ने मेरो प्रसस्त क्षमता छ। मेरो स्वास्थ्य स्थिति गम्भीर भए पनि म आत्तिएको छैन। मलाई पूर्ण विश्वास छ की म उपचारपश्चात पूर्ण निको हुने छु। मेरो बारेमा कुनै चिन्ता नलिन सबैमा अनुरोध पनि गर्दछु।

मेरो उपचारमा सङ्लग्न डाक्टर, मेरो पार्टीको नेतृत्व र आफन्तजनबाट थप उपचारको लागि देश बाहिर जान सुझाव आईरहेको र पठाउने प्रबन्ध मिलाइदै गरिएको भए तापनि मेरो उपचार देश भित्रै होस् भन्ने इच्छा छ। मैले बाहिर उपचारमा जाने सोचेकै छैन।

यहिबेला देशभित्र उत्पन्न राजनीतिक अवस्था देख्दा मलाई साहै्र चिन्ता लागेको छ। केही यथास्थितिवादी तथा प्रतिगामी नेताहरुले जनताले चाहेको संविधान लेख्नमा सहमति नगरी देश र जनताका लागि ठूलो धोका दिएका छन्। फेरी पनि प्रगतिशिल पार्टी र शक्तिहरुले देशलाई डुब्न नदिन पहल लिनैपर्छ। अर्को तर्फ हाम्रो पार्टी भित्रका संकिर्ण, जड्सुत्रवादी अराजकहरुले विचार संघर्षको नाममा पार्टी फुटाउन खोजेको आभाष भएको छ। यसमा जनताले पुरै पहल लिएर पार्टी फुट्न दिनु हुँदैन।

अन्तमा मेरो उपचारमा संलग्न नेपाल मेडिकल कलेज, जोरपार्टीका डाक्टर तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरु, ओम अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछु। साथै मेरो स्वास्थ्यलाभको कामना गर्नहुने पार्टी नेतृत्व, सरकार प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीहरु, आम पार्टी पंक्ति, पार्टीको आदेशमा समायोजनका लागि तयार हुनुभएका जनमुक्ति सेनाहरु, बहिगर्मीत सेनाका योद्धाहरु, पूर्व जनमुक्ति सेनाका साथीहरु, सम्पूर्ण आफन्तजन, शुभेच्छुक, पत्रकार तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु।

धन्यवाद!

नन्दकिशोर पुन ‘पासाङ’

संयोजक

पूर्व जनमुक्ति सेना, नेपाल

तथा पोलिटव्यूरो सदस्य

एकीकृत नेकपा (माओवादी)

तपाइँको प्रतिक्रिया ।