नेसनल युनाइटेड स्कुलमा विद्यार्थीहरूको चुनाव सम्पन्न

नेसनल युनाइटेड स्कुलमा विद्यार्थीहरूको चुनाव सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलका विद्यार्थीहरूले विद्यालयमा आयोजित चुनावमा भाग लिई स्कुल क्याप्टेन तथा भाइस क्याप्टेन र हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेनहरू छनोट गरेका छन।

विद्यार्थीहरूलाई प्रजातान्त्रिक विधिका बारेमा जानकारी गराउन साथै माध्यमिक तहको सामाजिक अध्ययन विषयको प्रयोगात्मक अभ्यास स्वरुप विद्यालयले चुनावको आयोजना गरेको थियो।

चुनाव अघि नै उम्मेदवारको नाम दर्ताको लागि निश्चित दर्ता शुल्कको मापदण्ड समेत निर्धारण गरी उम्मेदवारी माग गरिनुका साथै अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो भने उम्मेदवारहरुले कार्यपत्रसमेत निर्वाचन समितिमा बुझाएका थिए।

विभिन्न १० पदका लागि ३७ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए।५ कक्षाका छात्र मनिष सिलवालले लामवद्ध  भएर भोट खसाल्दा निकै रमाइलो र नयाँ अनुभव गरेको कुरा बताए।

मतदान प्रक्रिया चुस्त र छिटोछरितो बनाउनको लागि मतदान अधिकृत तोकिनुका साथै शिक्षक कर्मचारी तथा स्वयम्सेवकलाई परिचालन गरिएको थियो।

त्यसैगरी मतदाताहरूलाई पङ्क्तिबद्ध बनाएर मत खसाल्ने वातावरण तय गरिएको थियोभने उक्त चुनावमा आफूलाई उचित लागेका उम्मेदवारलाई गोप्य ठाउँमा गई स्वस्तिक चिह्नले छाप लगाएर विद्यार्थीहरूले मतपेटिकामा क्रमशः मतपत्र खसालेका थिए।

उक्त चुनावमा कक्षा २ देखि १० कक्षा सम्मका विद्यार्थीहरू, विद्यालयका शिक्षक तथा कर्मचारीहरु मतदाता रहेका थिए।खसेको मत मध्ये सम्पूर्ण मत सदर भएको थियो।निर्वाचनमा घोषित मत परिणाम अनुसार कक्षा १० का छात्र प्रितम राई निकटतम प्रतिस्पर्धीलाई २१२ मतले पछि पार्दै स्कुल क्याप्टेनमा विजयी हुँदा कक्षा १० कै छात्रा आयुष्का यादव स्कुल भाइस क्याप्टेनमा विजयी भइन।

यसैगरी ब्लु हाउसको क्याप्टेनमा सुप्रिया राई र भाइस क्याप्टेनमा समिप सुवेदी, ग्रिन हाउसको क्याप्टेनमा मनिष राउत र भाइस क्याप्टेनमा सञ्चिता तामाङ्ग, रेड हाउसको क्याप्टेनमा कुन्साङ्ग राई र भाइस क्याप्टेनमा सन्तोष महर्जन तथा यल्लो हाउसको क्याप्टेनमा रिजोन घिमिरे र भाइस क्याप्टेनमा सिम्रिता सुवेदी निर्वाचीत भए।

निर्वाचन सम्पन्न भएपश्चात् निर्वाचन समिति र विभिन्न पदका उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतगणना कार्य गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।