भारतसँगको व्यापार घाटालाई सन्तुलनमा ल्याउनेगरि नेपालले प्राथमिक एजेण्डा बनाउन आवश्यक छ : डा. राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,जेठ १४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७गते छिमेकी मुलुक भारत भ्रमणमा जाने कार्यतालिका तय भएको छ । २०७९ पुष १० गते नेपालको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका प्रचण्ड ढिलो गरी दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा जानलागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आगामी जेठ २० गते नेपाल फर्कने छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ ।
देशमा रहेको आर्थिक संकटलाई सम्बोधनगर्न, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न, कृषि क्षेत्रमा रहेकासमस्या समाधान, सीमाविवाद समाधान लगायतका क्षेत्रमा प्रधानमन्त्री प्रचण्डको भ्रमण उपलब्धीमूलक हुने आशागरिएको छ । यसैबीच रिपोर्टर्स क्लब नेपालले आज (आईतबार) प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा साक्षात्कारको आयोजना गरेको ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालको आर्थिक विकास र समृद्धिका लागिदुई देशबीचका प्रधामन्त्री बीचसहमति हुन आवश्यक रहेको औंल्याए । भारतले नेपालको विकास र समृद्धिको पक्षमा विगतमा पनि सहयोग गरिरहेकोले प्रधानमन्त्री दाहालको भ्रमणले द्धिपक्षीय सम्बन्ध थप उचाईँमा पुग्ने धमलाको विश्वास छ ।
नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको उद्देश्यलाई प्रमुख प्रतिपक्षी दल एमालेले पनि सोही रुपमा बुझेको उनको भनाई छ ।
‘छिमेकी देशमात्रै होइन, हाम्रो अत्यन्त महत्वपूर्ण मुलुकहो–भारत । द्धिपक्षीय व्यापारका हिसाबले, लगानीका हिसाबले, आर्थिक–सांस्कृतिक हिसाबले भारतसँगको सम्बन्ध राम्रो छ, ऐतिहासिक छ, फराकिलो छ । यसका बहुआयामिक अवस्था छ । यो बुहुआयामिक सम्बन्धलाई हामीले जहिलेपनि प्राथामिकताको साथ लिएका छौं ।’–नेता भट्टराईले भने,‘अहिलेका प्रधानमन्त्रीले पनि आफू प्रधानमन्त्री भएपछि आफ्नो भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलक बनाउनेछु भनेर भनिसक्नुभएको छ । यस सन्दर्भमा विपक्षी दलको हिसाबले ऐतिहासिक हुनेछ भनेर उहाँले बोलेर गएपछि ऐतिहासिक हुन्छ भन्ने हाम्रो बुझाई हो ।’
दुई देशका प्रधानमन्त्री बीचको भेटवार्ताबाट वर्षौदेखि समाधान नभएका समस्या समाधान हुनेतर्फ सोच्न आवश्यक रहेको उनको भनाई छ । नेपाल र भारतबीचको समस्या बिग्रिँदा नेपालको हित हुन्छ भन्ने हिसाबले एमालेले नसोचेको उनको भनाई छ । नेपालर भारतबीचको व्यापारमा नेपालले एक पक्षीय रुपमा घाटा व्यहोरिरहेको उनको भनाई छ । उक्त घाटा व्यहोरिरहेको व्यापारलाई कसरी सन्तुलनमा ल्याउने भन्ने नेपालले प्राथमिक एजेण्डा बनाउन आवश्यक रहेको उनले बताए ।
‘नेपाल– भारतबीचको व्यापार घाटालाई कसरी सन्तुलनमा ल्याउने भन्ने नेपालको प्राथमिक एजेण्डा हो । अझ त्यसभित्र पनि नेपालले अहिले अर्थिकरुपमा संकट भोगिराखेको छ, यो संकटले आम जनमानस माथि पारिरहेको प्रभाव र त्यो प्रभावबाट झण्डै दुईतिहाई व्यापार हुने मुलुक र सबैभन्दा ठूलो लगानीकर्ता मुलु्क भारत हो, प्रधानमन्त्रीस्तरीय भेटवार्तामा यो विषयमा ध्यानाकार्षण हुनुपर्छ,’– उनले भने ।
नेपालबाट भारतमा विद्युत निर्यातका सन्दर्भमा समेत छलफल हुनआवश्यक रहेको उनले औंल्याए। नेपालको सम्भावनाको स्रोत जलस्रोतले र विद्युतका बारेमा भारतसँग सकारात्मक संवादहुन सकेमा केही मात्रामा आर्थिक मन्दी सम्बोधन हुनसक्ने उनको भनाई छ ।
पर्यटन क्षेत्रको विकासका लागि समेत प्रधानमन्त्रीले यस भ्रमणलाई उपयोग गर्न आवश्यक रहेको उनले बताए । भैरहवा विमानस्थलमा सिधै भारतबाट हवाई सञ्चालन गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने उनले बताए । भारतबाट भैरहवा उडान र कृषि सम्बन्धी देखिएका समस्या समाधानका लागि तल्लो तहको प्रयास असफल भएको उनले बताए । पर्यटन र कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि राजनीतिक तबरबाटै पहल गरिनुपर्ने उनले बताए । तराईमाहुने डुवानको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीस्तरीय भेटवार्तामा छलफल भएर समाधानका लागि पहल गर्न आवश्यक रहेको उनले बताए ।
‘हरेक वर्षात्मा हामी तराईमा डुवानमा पर्छौं । यो भन्दा अघि केपीओलीको नेतृत्वमा रहेको सरकारका पालामा एउटा जोइन्ट कमिटी बनेर पर्सादेखि सप्तरीसम्मको डुवानको बारेमा अध्ययनभएको छ । पहिलोपटक भारतले सिमा क्षेत्रमा भारतीय संरचना बनेर नेपालतर्फ डुवान भएको भनेर त्यो प्रतिवेदनमा स्विकारेको जोइन्ट प्रतिवेदनतयार भएको छ ।’ उनले भने,‘यस्ताथुप्रै विषय छन् हामीसँग, जुनविषयले नेपालीको जनजीवनमा असर गरेको छ, नेपालको अर्थतन्त्रमा असर गरेको छ । कृषि, पर्यटन, जलस्रोतका सम्बन्धमा असर गरेको छ । यी कुरातर्फ प्रधानमन्त्रीको भ्रमण केन्द्रीत हुनपर्छ ।’

तपाइँको प्रतिक्रिया ।