पानीको मुहान सफा गरी सिथि नखः पर्व मनाइदै

पानीको मुहान सफा गरी सिथि नखः पर्व मनाइदै

कपन अनलाइन

काठमाडौँ, जेठ ११ । काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने ‘सिथि नखः’ पर्व आज मनाइँदैछ । विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने सो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ ।

सो समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सो पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएको पाइन्छ । सो प्रचलनलाई काठमाडौँका नेवार समुदायले निरन्तरता दिँदै अन्य स्थानमा समेत संस्कृतिका रुपमा विकास भएको पाइन्छ । आजको दिन कुमार कात्तिकेको पूजासमेत गरिन्छ ।त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख एवम् संस्कृतिवद् डा मिलनरत्न शाक्यले लेख्नुभएको ‘मञ्जुश्री कल्ड अफ नेपाल मण्डल’ नामक पुस्तकमा कुमारलाई मञ्जुश्रीका रुपमा वर्णन गरेको पाइन्छ ।

बौद्ध धर्मावलम्बीले मञ्जुश्रीलाई बुद्धका अवतारका रुपमा समेत सम्मान गरेको पाइन्छ । डा शाक्यका अनुसार अबको समयमा झरी परी विभिन्न रोग, ब्याधीको सङ्क्रमण हुनसक्ने हुँदा सरसफाइ गरेपछि त्यसबाट मुक्ति पाइने भएकाले सिथि नखःको विशेष महत्व र वैज्ञानिक कारण छ ।

तपाइँको प्रतिक्रिया ।