नयाँ वर्ष : अविचल आस्था मणि (कविता )

नयाँ वर्ष : अविचल आस्था मणि  (कविता )

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

बाँड्ने चाख छ ऋद्धि सिद्धि सबमा उत्साह यो वर्षमा
नौलो चाड बिहानको समय होस् स्वादे सबै अर्थमा
काला कल्मष फालिउन् पर सबै छिट्टै नयाँ पर्वमा
आओस् मङ्गल माङ्गलीकरणको उत्साह झन् हर्षमा ।

सरा रोग हटुन् र शोक ननिका, उत्साह सञ्चालन
गर्ने शक्ति मिलोस् र भक्ति रसिलो उल्लास कर्तव्यमा
वाणी पोख्त बनून् सबै हृदयमा गर्ने रसास्वादन
आओस् वर्ष नयाँ उमङ्ग सितमा होस् कृष्णको कीर्तन ।

जुध्ने शाहस पैलियोस् सहजमा बाधा हटाई पर
नौलो सभ्य खुला बिहान दिन होस्, होस् भावना उर्वर
इच्छासिद्धि मिलोस् सबै जन खुसी बन्ने खुलोस् भावना
ताकेका सब काम पूर्ण छ हुने साफल्य सम्भावना ।

आकाङ्क्षा परिपूर्ण हुन्छ कसरी आश्चर्य आकर्षण
चाँडो होस् अवतिर्ण स्वर्ग भवमा उत्पन्न झन् तत्क्षण
निष्ठा नैतिकता पुरस्कृत बनून्, नौला खुलुन् चाहना
स्वेच्छामा अभिवादनीय चुलियोस् सम्मान अभ्यर्थना ।

पीडा कष्ट हटुन् मनग्य मनमा आनन्द ऊर्जा भरी
बास्ना मग्मग फैलियोस् भुवनमा फुल्ने गरी बाबरी
उत्कन्ठा नव मेलजोल गहिरो होस् प्रेमले प्लावित
आओस् वर्ष असी बनेर सुविधा आरोग्य संस्थापित ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।