भूकम्पमा स्वास्थ्य क्षेत्रले देखाएको उदारता सराहनीय ः नेता कोइराला

काठमाडौँ, १४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख डा शशाङ्क कोइरालाले भूकम्पपछि स्वास्थ्य क्षेत्रले खेलेको उदारता सराहनीय भएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेता कोइरालाले भूकम्पमा घाइते भएकाको उपचारमा स्वास्थ्य क्षेत्र दिनरात खटेको बताउनुभयो ।

उहाँले भूकम्पपछि दातृ राष्ट्रको सहयोग धेरै आएकाले उक्त सहयोगलाई सही ठाउँमा लगानी गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले भूकम्पले देशमा दुःख ल्याए पनि यसलाई अवसरका रुपमा लिएर पुनःनिर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

नेवि सङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष पर्शुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, नेवि सङ्घका अध्यक्ष एवम् सभासद् रञ्जित कर्ण, नेपाली काँग्रेस गोरखाका अध्यक्ष हरि घलेलगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।