भारतीय पत्रकारको एक टोली पोखरामा

पोखरा, १४ असार । गत वैशाख १२ गते गएको भूकम्पले नेपालका केही जिल्लालाई असर गरेपनि पोखरा, लुम्बिनी, चितवन र अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको सन्देश भारतका शहरहरुमा दिन त्यहाँका पत्रकारहरुको एक टोली आज पोखरामा आइपुगेको छ ।

विद्युतीय र छापा माध्यमका करिब ३० जनाको पत्रकारको टोलीले यहाँ रहेको पर्यटन क्षेत्र, प्राकृतिक सम्पदा, हिमश्रृङ्खला, मठमन्दिरको अवलोकन गरेका छन् ।

पोखरा पर्यटन पुनःजागरण समितिको निमन्त्रणामा आएका भारतका लोकप्रिय टेलिभिजन र छापा माध्यमका पत्रकारहरुले पोखरालगायतका धेरै ठाउँहरु भूकम्पबाट सुरक्षित रहेको र ती ठाउँहरुमा भ्रमण गर्न कुनै असुरक्षाको महसूल गर्न नपर्ने सन्देश आफनो देशमा दिने बचन दिएका छन् ।

समितिका संयोजक गणेशबहादुर भट्टराईले भूकम्पबाट नेपालको अन्तर्राष्ट्रिय विमानस्थल, पुलपुलेसा सुरक्षित रहेको, भत्केका घरहरु पुनःनिर्माणका लागि दाताहरुबाट ठूलो सहयोग आएकाले अब भारतीय जनतामा नेपालको बारेमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभयो ।

पोखराका सवै पर्यटन व्यवसायीहरुले होटलमा ५० प्रतिशत, ट्रेकिङ्गमा ३० प्रतिशत, ट्राभल्समा २० प्रतिशतसम्म छुटको घोषणा गरेकोले यो गर्मीको समयमा पोखरा, तानसेनलगायतका ठाउँहरुमा आएर बस्न भारतीय पर्यटकका लागि उपयुक्त हुने समेत उहाँले जानकारी गराउनुभयो ।

पोखराबाट लखनउ, वनारस र दिल्लीसम्म सिधा हवाई सेवा सञ्चालन गर्न सके दुवै देशमा पर्यटकको आवागमनमा सहज हुने समितिका संयोजक भट्टराईले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।