आमाहरु : गंगा लिगल (कविता )

आमाहरु : गंगा लिगल (कविता )

कपन अनलाइन
काठमाडौं, फागुन २०।

हे अमेरिकाका नागरिक
जन्माउने आमाहरु
हामीलाई गर्व छ
तिम्रो महानतामा
किनकी,
विश्वको स्वर्ग भन्छन्
अमेरिकालाई
त्यसैले यहाँ जन्मेका सन्ततिहरु
भाग्यमानी पनि भन्छन्
हुन पनि हो
जन्मेदेखि खान पान र
पढाईको जिम्मा पनि
केही समयको लागि
वहन गर्छन पनि
त्यति मात्र कहाँ हो र
साथै यिनले
पेशागत कार्यमा पनि मद्दत गर्छन
यो देशले हामीलाई
खान, लाउन, बस्न अनि
सारा वस्तु उधारो दिन्छन्
उधारो
त्यसैले त जस्तो जस्तो
मान्छेलाई पनि
यहाँ बस्न सजिलो छ
तर ख्याल गर आमा हो
आमा भनेको आमै हो
आमाको छातीमा
लात्तिले नहानी देऊ
बच्चालाई संस्कार दिने
मात्र तिमी सँगै छ
बच्चाले कारलाई ‘कार’ लाई
‘खार’ भन्यो भन्दैमा
घमण्ड नगरौं
अनि गर्व पनि नगरौं
गर्व त त्यहाँ छ
जहाँ आमाको भाषा
संस्कृति, संस्कार अनि सभ्यता छ
हाम्रो पवित्र हिमाल
चोखो झरना
लेकमा उडने डाँफे
पहाडको लालिगुराँस
राष्ट्रिय पोशाक
जसमा सौन्दर्य र माधुर्यताको
पराकाष्ठा छ
रागिनीको बोल छ
नर्तकीको नृत्य छ
वाटिकाको शोभा छ
शैत्य र गाम्भीर्यताको
नैसर्गिक आभास छ
हरियालीको मृदु मुस्कान छ
तसर्थ तिनैलाई आमा भाषाको
पोषणता दिलाऔं
संस्कृतिले सिंगारौं
सुसंस्काले स्नान गराऔं
अनि नयाँ सभ्यताको चयनमा
यिनलाई अमूल्य निधिको
परिज्ञानले पूर्णता दिलाऔं
अनि गर्व गरौं
यस महानतामा
जहाँ हिनताको
छाया कत्ति नपरोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।