बाँदरहरु : भोलानाथ सुबेदी (कविता )

बाँदरहरु : भोलानाथ सुबेदी (कविता )

कपन अनलाइन
काठमाडौं, फागुन २०।

ऊ परबाट आउँदै छन्
बेरङ्गी बाँदरहररू
कोही राता छन्
कोही सेता छन्
कुनै धुस्रे छन्
कुनै फुस्रे छन्
भाँच्दै मकैका घोगा
खोस्दै भातका भाँडा
कन्याउँदै लुतो लागेको शरिर
निमोठ्दै पात र पालुवा
घरका छाना उघार्दै
कोही ध्वाँसीबाट छिर्छन्
कोही झ्यालबाट चिहाउँछन्
घरी यता उफ्रन्छन्
घरी उता उफ्रन्छन्
घाउका खाटा बल्झाउँदै
नुनचुक छर्छन्
मुटुमै दुखाउँछन्
बाँदरहरु भोका छन्
जति खाएपनि अघाउँदैनन्
उपद्रो गर्छन्
लुछाचुडी गर्छन्
कहिले खुट्टा टोक्छन्
कहिले उफ्रन्छन्
सडकमा नारा लाउँछन
मसाल बाल्छन्
बाँदरहरु क्रान्तिकारी भएका छन्
पुत्ला दहन गरेर
जिउँदै मान्छेको किरिया गर्छन्
मिलेर बसे रिसाउँछन्
वाद विवादमा खुसी हुन्छन्
बाँदरहरु
कहिले प्लेन चढेर आउँछन्
कहिले दागा धडेर आउँछन्
बल्छी थाप्छन्
गौडा ढुक्छन्
रूखका हाँगामा चढेर
चचहुई गर्छन्
आफ्नो स्वार्थका लागि बाँदरहरु
ङिच्च हाँसे झैँ गर्छन्
घरभित्र पसी कुम्लोकाम्लो कस्छन्
नारा लगाउँदै जान्छन्
ख्याक्क गर्छन्
सर्वस्व सक्छन्
बाँदरहरु अचेल किन यसो गर्छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।