शिवरात्री : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

शिवरात्री :    जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३ ।

परम्परा धान्न मात्र
पूजा नगर तिमीले
शिवको अर्थ र परिभाषा
बुझेर मात्र पनि हुदैन
बुझ्नै पो
कहाँ सकिन्छ र ?शिवजीलाई
किताबको पानामा छैनन्
मन्दिरमा छैनन्
शिवलिङ्गमा पनि छैनन्
भएको भए कसैले देख्नु पर्ने
देखेको भए
यो दुनियाँमा
भाइरल हुने थिए
नागा बाबाहरू
जटा पालेर
खरानी घसेर
त्रिशूल लिएर
शिवको स्वरूप
देखाउन् खोज्छन्
ती शिव होइनन्
शिव त हरेक
मानिसको भक्तिमा छन्
भजन र किर्तनमा छन्
सत्यमा छन्
सुन्दरमा छन्
अभाव र अहङ्कारले भरिएका
दक्ष प्रजापतिहरू लाई
यज्ञ कुण्डमा
होम्ने तागत
र बोकाको टाउको जोड्न सक्ने
प्रसिद्ध सर्जन
डाक्टर हुन् शिव
जालन्धर जस्ता धोकेबाज
यहाँ धेरै भए
अनि पशुपति
निवास बस्न चाहानु भएन शिव !
यहाँ राजनेताले
स्वधर्म छाडिसके
परधर्म
अपुताली पाएर
निरपेक्ष शासनमा
सापेक्ष भाषण गर्दा
कुर्लेर चढा उकउदै छन्
सयौँ किलोका
जलहरी
र हातमा फूल लिएर
प्रायश्चितको
नाटक देखाउँदै छन्
त्यहाँ आउनु हुन्न शिव
शिव त !
व्याधा चढेको वेलपत्र
रुखमुनि हुनुहुन्छ
मृगिणी र बच्चाको जिन्दगीको
खुशीमा हुनुहुन्छ
शिव सत्य र सुन्दरमा हुनुहुन्छ
फाल्गुन कृष्ण त्रयोदसी
एक दिनको
शिवरात्री मनाएर हुन्न
मनभित्र विश्वासको वेलपत्रले
सत्यको पूजा गर्नु पर्छ
त्यहाँशिव
वास बस्न आउनुहुन्छ
त्यो हो शिवरात्री !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।