सम्मेलनमा चार खर्ब बराबरको सहयोग घोषणा

काठमाडौँ, १० असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म रु चार खर्ब बराबरको सहयोगको घोषणा भएको छ ।

नेपालको पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोगसहित ती घोषणा दाताहरुबाट आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राससलाई जानकारी दिनुभयो ।

An opening ceremony of the ICNR
दातृ निकायले घोषणा गरेको उक्त सहयोग नेपालले अपेक्षा गरेको भन्दा राम्रो रहेको उल्लेख गर्दै उहाँले अबका दिन पुनःनिर्माण तथा कार्यान्वयनको चुनौतीको पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

केही बेरअघि सकिएको ‘बिजनेस’ सत्रको समापनपछि मुख्य सचिव लीलामणि पौड्यालले सम्मेलन सफल भएको प्रतिक्रिया दिनुभयो । आगामी दिन सहायताको सदुपयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

अर्थमन्त्री डा रामशरण महतले अध्यक्षता गर्नुभएको यस सत्रमा नेपाल पुनःनिर्माणको क्षेत्रमा गइसकेकाले त्यसतर्फ सबै दातृ निकायको ध्यान जानुपर्ने बताउनुभएको थियो ।

यस सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी अर्थसचिव सुमन शर्माले स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनबारे सम्मेलनमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो । सो अवसरमा पुनःनिर्माणसम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।

यो सत्रको समापनपछि योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्माको सहअध्यक्षतामा प्राविधिक सत्र सुरु हुँदैछ । फोटो :कुमार श्रेष्ठ  रासस

तपाइँको प्रतिक्रिया ।